• १८ पुस २०८२, शुक्रबार

चिसो बढेसँगै औल झारिन थालियो घोडा भेडा

blog

चिसो बढेसँगै कर्णाली राजमाग हुँदै बेसी झार्दै हिमाली घोडा । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट पुस १८ गते ।
कर्णाली प्रदेशका उच्च हिमाली तथा पहाडी जिल्लामा दैनिक चिसो बढिरहेको छ । हिमाली जिल्ला कालीकोट, जुम्ला, मुगु हुम्लामा चिसो बढेपछि यहाँका किसानले पालेका घोडा–घोडी औलतिर झार्न थालिएका छन् ।

पशुपालकहरुले प्रायः यो सिजनमा घोडा, भेडा, बाख्रा औलतिर जस्तै दैलेखको तल्लो क्षेत्र, सुर्खेत, सुदूरपश्चिमको अछाम, डोटी जिल्लामा बसाई सार्ने गरिएको छ ।

हिमाली जिल्लामा हिउँदको समयमा घोडा–घोडी, भेडा, बाख्रालाई चर्ने घाँसको अभाव पनि हुने गरेकाले तल्लो क्षेत्रमा चराउन लिने पुरानै चलनको निरन्तरता यो वर्ष पनि सुरु भएको हो । जुम्ला तातोपानीका कलबहादु रावलले जुम्लामा चिसो माइनेस ७ सम्म पुगेकाले यहाँ पशुवस्तुलाई खाने घाँस सबै सुक्ने हुँदा मङ्सिर, पुस र माघ महिनामा घोडा, भेडा औल अर्थात बेसी तिर लैजानु पर्ने बाध्यता भएको बताउनुभयो ।

वन क्षेत्रमा हिमपातले भरीभराउ हुने भएकाले भेडा चराउने ठाउँ नै हुँदैन बाध्यताले पशुपालकले तीन महिना घर बाहिर अर्थात हिँउदमा माल र वर्षातमा भोट जानु पर्ने रावलको भनाइ छ ।

माल भनेको खश भाषामा तराईको भुमि अर्थात औल बेसी क्षेत्र हो भने भोट भनेको हिमाली क्षेत्र हो ।

जुम्लाकै हिमा गाउँपालिका वडा नं ५ का डबल शाहीले आफ्ना भेडा, बाख्रा अघिल्लो वर्षभन्दा यो वर्ष भने अलि ढिलो झारेको बताउनुभयो । कालीकोटको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिका बिहानी क्षेत्रमा कर्णाली राजमार्गमा घोडाभेडासँगै रहनुभएका शाहीले यो वर्ष १५ दिन ढिला भएको बताउनुभयो । ‘‘अझै केही दिन राख्ने बिचार थियो, तर चिसो निकै बढ्यो । अब पानी पर्ने वित्तिकै हिमपात हुने भएकाले बेसी झारेका हौँ ।’’ उहाँले भन्नुभयो ।

यता कालीकोटको रास्कोट नगरपालिका वडा नं २ का जंग खड्काले पनि आफ्ना भेडा अछाम पुर्याएको बताउनुभयो ।