रमेश विश्वकर्मा
गुल्मी, पुस १८ गते । गुल्मीको सदरमुकाम तम्घासमा विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको सहआयोजनामा यहाँ अवस्थित रेसुङ्गा माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको हो ।
विद्यालयमै पुगेर दुई दिनसम्म ४३० जना विद्यार्थीहरुको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत निःशुल्क परीक्षण गरिएको हो । बालबालिकामा देखिन सक्ने जन्मजात तथा बाथ मुटु रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुर्याउनका लागि विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीले जनाएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य एवम् मुटुरोग विशेषज्ञ डा.सुमन्त बन्जाडेले विद्यार्थीहरुको मुटु परीक्षण गर्नुभयो ।
विशेषगरी कक्षा ७, ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो । जसमा चार जनामा मुटुको बाथरोग र दुई जनामा मुटुको जन्मजात समस्या देखिएको छ । समस्या देखिएका विद्यार्थीहरुलाई गुल्मी अस्पतालको पेन–प्लस क्लिनिक (ओपीडी नम्बर–१५) मा भर्ना गरी आवश्यकता अनुसार सबै बिरामीहरुलाई उपचार र फलो–अप हेरचाह प्रदान गरिने बताइएको छ । त्यसअवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीका निवर्तमान सभापति शेरबहादुर थापाले विद्यालयमै पुगेर गरिएको परीक्षणले समय र खर्च दुवैको बचत भएको बताउनुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यस जिल्लामा मुटु रोगीहरुको उपचार र सहयोगका लागि समन्वयकारी भूमिका खेल्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई उपचारमा पहुँच पुर्याउन प्रतिष्ठान सक्रिय रहनुका साथै गुल्मी अस्पताललाई मुटुको बाथरोग लागेकाहरुका लागि निःशुल्क वितरण गर्ने उद्देश्यले बेन्जाथेन पेन्सिलिन इन्जेक्सन उपलब्ध गराउँदै आएको छ ।