चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १८ गते । लाखेजात्रा सञ्चालन समितिले खेलाएको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट पाँच लाख रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ । करिव साढे चार महिनाअघि लाखेजात्राको अवसरमा खेलाइएको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताबाट समितिले सम्पूर्ण खर्च कटाएर उक्त रकम बराबर नाफा आर्जन गरेको हो ।
लाखेजात्रा सञ्चालन समितिले बिहीबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकप प्रतियोगितामा भएको आयव्यय सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको आयव्यय विवरणअनुसार कुल पाँच लाख १७ हजार ३२७ रुपियाँ नाफा अर्थात उक्त रकम बचत भएको छ ।
समितिका कोषाध्यक्ष दावा शेर्पाले प्रतियोगितामा कुल ९१ लाख ४८ हजार २७६ रुपियाँ आय (आम्दानी) भएको जानकारी दिनुभयो । विभिन्न सङ्घ संस्था तथा सहयोग दाताबाट उक्त रकम सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार सहयोगस्वरुप सङ्कलन भएको रकममध्ये ८७ लाख ९४९ रुपियाँ गोल्डकप सम्पन्न गर्न खर्च भएको छ ।
यता ताप्लेजुङका नौमध्ये छ स्थानीय तहसँग सम्झौता भएको रकम प्राप्त भइसक्दा नाफा अर्थात् बचत रकम करिव १० लाख रुपियाँ पुग्ने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । लाखेजात्रा सञ्चालन समिति र स्थानीय तहहरुसँग भएको सम्झौता अनुसारको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष मादेनले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहसँग सम्झौता भई सकेको रकम निकासाको प्रक्रियामा रहेको छ ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले गत साउन २४ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । समितिले सात दिनसम्म प्रतियोगिता सञ्चालन गर्दा टिकट बिक्री गरेर मात्र २० लाख रुपियाँ आम्दानी गरेको थियो । समितिले बोलपत्र (ठेक्का) प्रक्रियामार्फत खेल दर्शकका लागि टिकट विक्री गरेको थियो ।
प्रतियोगितामा विजेता बनेको सलहेस युवा क्लब सिराहालाई पाँच लाख दुई हजार ८२ रुपियाँ र उपविजेता चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरलाई तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार रकम प्रदान गरिएको थियो । विजेता, उपविजेताका लागि पुरस्कार रकमसँगै प्रतियोगितामा सहभागी भएको स्थानीय एकबाहेक सात टोलीलाई खान, बस्न र यातायात लगायतमा खर्च भएको समितिले जनाएको छ ।