• १८ पुस २०८२, शुक्रबार

आन्तरिक राजस्वको काम स्थानीय तहबाट

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १८ गते । आन्तरिक राजस्व कार्यालयले दिने सेवा बिहीबारदेखि स्थानीय तहबाट सुरु भएको छ । बिहीबार टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर जारी गरी सेवा सुरु गरिएको हो । यसअघि आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले दिइरहेको सेवा अब टीकापुर नगरपालिकाको आन्तरिक राजस्व शाखाबाट दिइने छ । 

स्थायी लेखा नम्बर जारी गर्ने टीकापुर नगरपालिका सुदूरपश्चिममा पहिलो पालिका भएको छ । पहिले धनगढी पुगेर गर्ने काम करदाता सेवा कार्यालय लम्कीसम्म आएको र त्यो सेवा अब स्थानीय तहमा आउँदा नागरिकलाई धेरै सजिलो भएको स्थानीय व्यापारी नारायण न्यौपानेले बताउनुभयो ।

सेवाको सुरुवात गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले लम्कीमा पुगेर घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अन्त्य भएको र यहाँका व्यवसायी, संस्था र व्यक्तिलाई सहज हुने बताउनुभयो । मङ्सिर २८ देखि एक हप्ताको तालिम दिएर व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्न र संशोधन गर्न सिकाइएको र त्यही अनुसार पहिलो दिन दुई वटा स्थायी लेखा नम्बर जारी गरेको नगरपालिकाको राजस्व शाखाका कर्मचारी वृन्दा उपाध्यायले बताउनुभयो ।

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख अधिकृत भीमप्रसाद काफ्लेले अब सेवाग्राहीले नजिक सेवा पाउने तथा स्थानीय तह र सङ्घीय सरकारको राजस्व पनि बढ्ने गरी प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन भएको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नागरिकलाई सेवा पुग्ने भएकाले भएको स्रोतसाधनको उच्च प्रयोग गर्दै स्थानीय तहले सेवा दिन लागेको बताउनुभयो । करदाता सेवा कार्यालय खारेज गरी सो काम स्थानीय तहबाटै गर्ने नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णय अनुसार आन्तरिक राजस्वको काम स्थानीय तहबाट सुरु गरिएको हो ।