• १६ पुस २०८२, बुधबार

विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

विदुर आचार्य

चौतारा, पुस १६ गते । सिन्धुपाल्चोक जिल्लाको खुर्सानीबारीस्थित सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । पतञ्जलि योग समिति काभ्रेपलाञ्चोक जिल्लाको सहयोगमा, बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले सहित महिला पतञ्जलि योग समिति सिन्धुपाल्चोकले न्यानो वितरण गरेको हो। 

महिला पतञ्जलि योग समिति सिन्धुपाल्चोककी जिल्ला अध्यक्ष कविता राउतले जाडो सुरु भएसँगै बालबालिकालाई न्यानो वितरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा तीन दर्जन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, पतञ्जलि योग समिति काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक जिल्लाका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले सामाजिक संस्था र सरकारको उद्देश्य एउटै रहेको बताउँदै यस्ता सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, प्रदेश प्रमुख ग्रुवेन तौजलेले योग स्वास्थ्यका लागि मात्र नभई असल आचरण र जीवनशैलीको मार्गदर्शन पनि भएको उल्लेख गर्नुभयो । 

पतञ्जलि योग समितिले स्वास्थ्य चेतना, स्वस्थ आचरण र सेवा नै आफ्नो प्रमुख लक्ष्य रहेको जानकारी गराउँदै समाजसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।