विजयकुमार साह
ढल्केबर, पुस १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । पर्यटन क्षेत्रको विकासले आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारी सिर्जना र स्थानीय जनजीविकामा सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षेत्रको विकासका लागि लगानी बढाउँदै लगिएको उहाँले बताउनु भएको हो ।
बुधबार धनुषाको लालगढमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशले नवनियुक्त मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकमना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मधेश प्रदेशमा पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेश धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो, ‘जनकपुरधामको जानकी मन्दिरलगायत मधेशका आठवटै जिल्लामा वैदिक सनातन धर्मसँग जोडिएका थुप्रै मठमन्दिर र धार्मिक स्थल छन् । ती स्थलहरूको योजनाबद्ध विकास गर्ने सरकारको लक्ष्य छ ।’ मुख्यमन्त्री यादवले पर्यटनसँगै कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई समेत प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी दिनु भयो ।
कार्यक्रममा होटल पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सुरक्षाकर्मीले सुरक्षा जाँचको नाममा अनावश्यक दुःख दिने गरिएको गुनासो गर्नुभयो । यसले पर्यटन प्रवर्धनमा नकारात्मक असर पार्ने भन्दै त्यसमा सुधारका लागि प्रदेश सरकारको पहल आवश्यक रहेको उहाँको आग्रह थियो ।
अध्यक्ष गौतमले मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले आफ्नै दक्षता र अनुभवका आधारमा विगत सात वर्षदेखि निरन्तररूपमा पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । सरकारी सहयोग र निजी क्षेत्रको सहकार्यले मधेश प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।