काठमाडौँ, पुस १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–३, २५–८, २५–९ को नतिजा निकालेको हो ।
पुलिस समूह ‘बी’ मा अपराजित रह्यो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई ३–० र विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा हराएको थियो। पुलिस समूह विजेता र एपिएफ समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको छ । यस मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन्।
यस्तै, बुधबार नै भएको समूह ‘ए’ को अर्को खेलमा एभरेस्ट भलिबल क्बलले चुली युवा क्बललाई ३–० को सोझो सेटमा हरायो । एभरेष्टले २५–१४, २५–५, २५–११ को नतिजा निकालेको हो ।
यस समूहबाट त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेका छन् । बुधबारको खेलसँगै महिलातर्फको सेमिफाइनल सेमीकरण पूरा भएको छ । सेमिफाइनलमा पुलिसले आर्मी र एपिएफले न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्ने छ ।