काठमाडौँ, पुस १६ गते । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो ।
यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो ।
नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।
१७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मङ्गलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गर्नु भएको थियो ।
उहाँले आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताउनु भयो ।