• १६ पुस २०८२, बुधबार

संस्कृत क्याम्पसको छात्रावासमा बस्ने विद्यार्थीलाई कम्बल वितरण

blog

मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल तथा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण विद्यार्थीलाई कम्बल वितरण गर्नु हुँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस १६ गते । महोत्तरी जिल्लाको मटिहानीमा रहेको संस्कृत क्याम्पसको छात्रावासमा रहेका विद्यार्थीलाई शीतलहरबाट जोगाउन मटिहानी नगरपालिकाले कम्बल वितरण गरेको छ । 

मटिहानी नगरपालिका–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको छात्रावासमा बसोवास गर्दै आएका विद्यार्थीलाई बुधबार बिहानै छात्रावास पुगेर नगर प्रमुख हरिप्रसाद मण्डलले विद्यार्थीलाई कम्बल वितरण गर्नुभएको हो । अत्याधिक जाडो बढेपछि विद्यार्थीलाई अप्ठयारो भइरहेको सूचना पाएपछि विद्यार्थीलाई राहत पुगोस भन्ने अभिप्रायले कम्बल वितरण गरिएको नगर प्रमुख मण्डलले बताउनु भयो ।

उहाँले यसक्षेत्रमै संस्कृत भाषाको उत्थानका लागि स्थापित विद्यापीठका विद्यार्थीलाई पठनपाठनमा असहज नहोस् भनेर कम्बल वितरण गरिएको बताउनु हुँदै नगर प्रमुख मण्डलले यसले छात्रावासमा बस्ने विद्यार्थीलाई न्यानो पुग्ने बताउनु भयो । 

याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णले मटिहानी नगरपालिका र नगर प्रमुखको यस सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुहुँदै कम्बल वितरण प्रति खुसी व्यक्त गर्नुभयो । यस प्रकारको सहयोगले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र अध्ययनमा पनि सहयोग पुग्ने प्राचार्य कर्णको भनाइ थियो । 

कम्बल वितरण कार्यक्रममा वडा ७ का वडाध्यक्ष जितनारायण माझी, वडा ६ का वडाध्यक्ष कलीम अंसारीसहित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिती रहेको थियो । 

यता शीतलहर बढेपछि नेपाली सेनाले मटिहानी नगरपालिकाको विभिन्न ठाउँमा दाउरा बालेको छ । जलेश्वरको परिकौलीस्थित गोरखनाथ गणले शीतलहर बढेपछि मटिहानी नगरपालिकाको विभिन्न ठाउँमा दाउरा बालेको जनाइएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले बढदो शीतलहरको कारण जनजीवनलाई प्रभावित हुन नदिन न्यानो वितरण गर्न गरेको आग्रह बमोजिम नेपाली सेनाले दाउरा वितरण गरेको हो । त्यसैगरी स्थानीयतहले पनि आफ्नो क्षेत्रमा दाउरा वितरण गरेको जनाइएको छ ।