• १६ पुस २०८२, बुधबार

जेनजी र रास्वपाका एजेन्डा एकै हुन् : सभापति लामिछाने

blog

बुधबार पोखरमा पत्रकारसँग कुरा गर्नु हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनु भएको छ । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पछिल्लो आन्दोलनको उद्देश्य र देशको आवश्यकता सम्बोधन गर्नका लागि परेको सुनाउनु भयो । 

सभापति लामिछानेले भन्नु भयो, “रास्वपा र जेनजी आन्दोलनका एजेन्डा मेल खान्छन्, उद्देश्य एकै हुन् । हामी जेनजीका माग सम्बोधन गर्न प्रतिबद्ध छौँ ।” लोकतन्त्रको विकल्प नभएको सुनाउँदै उहाँले लोकतन्त्र र अहिलेको व्यवस्थामा रहेका कमजोरी सुधार्दै अघि बढ्ने प्रष्ट पार्नुभयो । 

पहिले देशको अवस्था फेर्नमा ध्यान दिने सुनाउँदै उहाँले रास्वपा बलियो भएपछि व्यवस्था पनि परिमार्जन हुन सक्ने उल्लेख गर्नुभयो । “मलाई झुठा मुद्दा लोकतन्त्रले लगाएको होइन, लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो,” उहाँले भन्नु भयो, “हाम्रो सामर्थ्य पुगेपछि व्यवस्थामा परिमार्जन आवश्यक भए त्यो गर्छाैँ ।” 

आफू साविकमा निर्वाचन लडेको चितवन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने जानकारी दिँदै उहाँले चुनावअघिको गठबन्धन नहुने प्रष्ट पार्नुभयो । फागुन २१ मा हुने निर्वाचनबाट रास्वपा बलियो शक्ति बन्ने दाबी गर्दै उहाँले देशलाई सकारात्मक परिवर्तनको दिशाले लैजाने अठोट व्यक्त गर्नुभयो । 

“जनाले ठुला आशा गरेका नेताहरू पछिल्लो क्रममा पार्टीमा आउनु भएको छ, नागरिकले विवेक प्रयोग गर्नेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नु भयो । समानुपातिक उम्मेदवारको सूचीबारे केही विवाद र छलफलमा आएका विषयलाई सम्बोधन गरिने उहाँको भनाइ छ । “समानुपातिकका सबै गुनासा सम्बोधन गर्छाैँ किनभने हामीले बोक्नु पर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भन्नु भयो ।

उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह रास्वपामा आएपछि आशाको सञ्चार भएको उहाँको भनाइ छ । “ममाथि ठाउँ ठाउँमा मुद्दा भएकाले मात्र होइन, केही नभएको भए पनि उहाँलाई रास्वपाले दिनुपर्ने ठाउँ त्यही हो,” सभापति लामिछानेले थप्नु भयो, “बालेनजीलाई प्रधानमन्त्रीका रूपमा देशले देख्न चाहेको छ ।”