टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १६ गते । गुल्मी दरवार गाउँपालिका–१ बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी खसेपछि निकै खुसी हुनुभयो । डेढ/दुई घण्टा खोला र खोल्सा धायर पानी ल्याएका अनुभव रजाली आफैसँग छन् । २०३८/०३९ सालबाट रेसुङ्गाको पानी गाउँ पुगेपनि पुग्न छोड्यो । गर्मीको समयमा पानी सुक्दा खानेपानी सङकट हुन्थ्यो । अहिले डिलमै दिनमा दुई समय पानी आउँछ । अहिले सोलार लिफ्ट मार्फत खानेपानी घरको डिलमा खसेपछि रजालीसहितका स्थानीयमा खुसीको सिमा छैन ।
रहखोला–देबिस्थान सोलार लिफ्टिङ खानेपानी योजना लुम्बिनी प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, ग्रामीण प्रविधी केन्द्र, गाउँपालिका र स्थानीयको जनश्रमदान गरेर कुल एक करोड ९७ लाख ५७ हजार रुपियाँको लागतमा सम्पन्न भएको थियो ।
यो योजनाले ३२७ घरधुरी प्रत्यक्ष लाभाम्बित भएका छन् । खानेपानी योजनाको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गर्नुभयो । सात निकायबाट आर्थिक सहयोग बलिथुमका अधिकांश घरधुरीमा खानेपानी पु¥याइएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो ।
गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । जिल्ला समन्वय समिति, गुल्मीको प्रतिवेदनको आधारमा रेसुङ्गा र छत्रकोट गाउँपालिकाका सबै घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । रेसुङ्गा नगरपालिकाका नौ हजार १५ र छत्रकोट गाउँपालिकाका पाँच हजार ३९७ घरधुरीमा खानेपानी पुगेको छ । मुसिकोट नगरपालिकाका सात हजार ९९ घरधुरीमध्ये पाँच हजार ५२७ घरमा खानेपानी सेवा पुगेको छ । अझै एक हजार ५७२ घरमा खानेपानीको सुविधा पुग्न बाँकी छ । त्यस्तै चन्द्रकोट गाउँपालिकाका पाँच हजार ४९ घरमध्ये चार हजार ९८० घरमा खानेपानी सुविधा पुगेको छ ।
मदाने गाउँपालिकाका पाँच हजार २५३ घरमध्ये तीन हजार ६६७ घरमा मात्र खानेपानी पुगेको छ । मदानेमा अझै एक हजार ५८६ घरमा खानेपानीको पहुँच नपुगेको देखिन्छ । सत्यवती गाउँपालिकामा पाँच हजार १६९ मध्ये तीन हजार ६५२, कालीगण्डकी गाउँपालिकामा तीन हजार ५५७ मध्ये दुई हजार ९५७ र इस्मा गाउँपालिकामा पाँच हजार ९९ मध्ये तीन हजार ९८७ घरमा खानेपानी सुविधा पुगेको जिल्ला समन्वय समिति गुल्मीको शाखा अधिकृत सृजना मिश्रले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिकामा पाँच हजार ३८२ मध्ये चार हजार ९४५ घरमा, मालिका गाउँपालिकामा पाँच हजार २४१ मध्ये चार हजार ५५४ घरमा र रुरुक्षेत्र गाउँपालिकामा चार हजार २२७ मध्ये तीन हजार ६७५ घरमा खानेपानी सुविधा पुगेको मिश्रले बताउनुभयो । त्यस्तै गुल्मी दरबार गाउँपालिकाका पाँच हजार २५३ घरधुरीमध्ये पाँच हजार १३० घरमा सेवा पुगेको छ । जिल्लाभर अझै आठ हजार ५०७ घरधुरीमा खानेपानी सुविधा पुगेको छैन ।