गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन वटा मन्त्रालय समालिरहनुभएका मन्त्री कुलमान घिसिङले बर्सौंदेखिको रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ । सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृत्ति निरुत्साहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुुःख अन्त्यका लागि ठेक्का तोड्नु परेको स्पष्ट पार्नुभयो ।
उहाँले नियोजित रूपमा कुनै पनि ठेक्का नतोडिएको र समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताउनुभयो । सडक विभागले एक सय दिनमा सडकसँग सम्बन्धित ४० वटा रुग्ण ठेक्का तोडिसकेको छ । उहाँले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठुलो योगदान रहेको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिनुभयो । सडक निर्माण र व्यवस्थापनको अधिकार सङ्घ, प्रदेश र स्थानीय तहलाई छ । यसको लम्बाइ र आकार अनुसार कुनै सङ्घ, कुनै प्रदेश र कुनै स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छ । तर आमनागरिकले कुन सडकमा कसको क्षेत्राधिकार छ भन्ने थाहा नपाउँदा सडक भनेको सडक विभागले नै बनाउने हो भन्ने बुझाइका कारण सङ्घ सरकारप्रति धेरै आव्रmोश आउने गरेको उहाँले बताउनुभयो ।
नियमित रूपमा तदारुकतासाथ सडक मर्मत गर्न सडक बोर्डलाई निर्देशन दिँदै उहाँले सडक पूर्वाधारको मर्मतसम्भार तथा संरक्षण खर्च व्यवस्थापनका गर्न ‘सेवाका लागि दस्तुर’ सिद्धान्त अनुरूप बोर्डले उपभोक्ताबाट दस्तुर सङ्कलन गरी वित्तीय व्यवस्थापन गरिने अवधारणा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
बोर्डले अहिले भैरहवा–भुमही सडक अन्तर्गत भैरहवाको वसन्तपुरस्थित टोलबुथ विद्युतीय प्रविधिका आधारमा सडक उपभोग दस्तुर (टोल) सङ्कलन सुरु गरेको छ । बोर्डले सडक दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ अनुसार सडक उपभोग दस्तुर सङ्कलन कार्य सुरु गर्न आवश्यक पर्ने सडक दस्तुर उठाउने कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल सडकमध्ये सात हजार ९३६ किलोमिटर खण्डमा मर्मतसम्भार गरिएको जानकारी दिनुभयो । उहाँले सो आर्थिक वर्षमा शतप्रतिशत वार्षिक लक्ष्य प्राप्त भएको जानकारी दिनुभयो ।