ललित बसेल
सुर्खेत, पुस १६ गते । कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने तथा जडीबुटीजन्य उपजलाई प्रदेश सरकारले ‘मूल्यवान्’ नामकरण गरेको छ । मह, फापर, बेसार, अदुवा, टिम्मुरलगायत रैथाने र जडीबुटीजन्य उपजलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘मूल्यवान्’ ब्रान्ड भन्दै लोगो प्रदान गरेको हो । यी उत्पादनमा मूल्यवान् लोगो लगाएर बिक्रीवितरण गरिएको छ ।
पहिलो चरणमा रैथाने र जडीबुटीजन्य उत्पादन गर्ने कर्णालीका पाँच जिल्लाका २७ जटा उत्पादक समूहलाई सो लोगो प्रयोग गर्ने अधिकार दिइएको छ । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला, सल्यान, जाजरकोट र रुकुमपश्चिमका २७ वटा फर्म, समूह र सहकारीलाई मूल्यवान् लोगो दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत तिलकप्रसाद पाण्डेले २०७८ साल जेठ २० गतेको मन्त्रीपरिषद् बैठकले मूल्यवान् लोगो प्रयोग गर्ने स्वीकृति दिएको बताउनुभयो । त्यसयता कर्णालीका पाँच जिल्लाका २७ वटा रैथाने तथा जडीबुटीजन्य उत्पादन गरेका फर्म, समूह र कृषकलाई मूल्यवान् लोगो प्रदान गरिएको जानकारी उहाँले दिनुभयो ।
मूल्यवान् लोगो प्राप्तिका लागि कर्णाली प्रदेशमा उत्पादन हुनुपर्ने, रैथाने बाली हुनुपर्ने, रासायनिक विषादीको प्रयोग नहुनुपर्ने, जडीबुटीजन्य उत्पादन हुनुपर्ने प्रावधान छ । सुरुमा छ महिना परीक्षणका लागि लोगो प्रदान गरिने र त्यसपछि वार्षिक रूपमा मापदण्डभित्र रहेर नवीकरण गर्नुपर्ने जानकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले दिनुभयो ।
मूल्यवान् लोगो लिएका कृषकले वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । आगामी दिनमा कर्णालीमा रैथाने र जडीबुटीजन्य उत्पादन गर्ने अन्य उपजलाई पनि मूल्यवान् लोगो प्रदान गर्दै जाने पाण्डेले बताउनुभयो ।
यस वर्ष कर्णालीमा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने लक्ष्य लिइएको छ । उक्त रैथाने बाली खाद्य व्यापार तथा कम्पनीले खरिद गरी बिक्री गर्ने योजना बनाएको र प्रदेश राजधानी सुर्खेतमा प्रशोधन मिल स्थापना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सरकारले नै रैथाने बाली खरिद गर्दा कृषक उत्साहित हुने, बिक्रीका लागि बजारको चिन्ता नहुने जस्ता फाइदा हुने छ ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले २०७४ फागुन ६ गते कर्णाली प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही अनुसार कर्णालीको कृषि रैथाने बाली तथा जडीबुटीजन्य उपजलाई अर्गानिक बनाउने प्रयासमा लागेको बताउनुहुन्छ । उहाँले कर्णालीका खास रैथाने र जडीबुटीजन्य उत्पादनलाई मूल्यवान् लोगो प्रदान गरेर प्राङ्गारिकतर्फ अग्रसर भएको पाइएको जनाउनुभयो ।
कर्णाली प्रदेशमा लिवर्ड, दिगो कृषि तथा जैविका स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) लगायतका निकायले प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन गरेका छन् । एन्साबका कार्यकारी निर्देशक डा. भीष्मप्रसाद सुवेदीले कर्णाली प्रदेश सरकारले दिएको मूल्यवान् लोगोले रैथाने र जडीबुटीजन्य अर्गानिक उत्पादन गर्न कृषकलाई हौसला मिलेको उल्लेख गर्नुभयो । लिवर्डका कार्यक्रम प्रमुख रिता गुरुङले एक वर्षदेखि कर्णालीका पाँच स्थानीय तहमा रैथाने बाली र जडीबुटीजन्य प्राङ्गारिक उत्पादन बढाउन पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना लागु भएको बताउनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका र आठबिस नगरपालिका तथा जुम्लाको तातोपानी गाउँपालिकामा सो कार्यक्रममा प्राङ्गारिक उत्पादनलाई बढावा दिइएको छ ।