गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले देशभर चुनावी वातावरण बनिरहेको बताउनुभएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा मङ्गलबार राजधानीमा आयोजित गुरुङ समुदायको राष्ट्रिय पर्व तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
उहाँले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको र राजनीतिक दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको बताउँदै यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोसेढुङ्गा पार गरेका छौँ भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेकाले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ सहयोग र सव्रिmय सहभागिता अत्यन्तै आवश्यक रहेको बताउनुभयो । मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ भन्दै उहाँले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक विविधता नेपालको गौरव हो । यही विविधता नै हाम्रो ठुलो शक्ति हो । तमु ल्होसार जस्ता पर्वले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् ।”
“नेपाली समाजको अर्को सुन्दर पक्ष भनेको जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि आपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौँ भन्ने विश्वास कायम नै छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतभेद भए पनि संवाद, सहमति र शान्तिपूर्ण मार्ग रोज्नु नै हाम्रो लोकतान्त्रिक संस्कार हो । हामीभित्र पीडा र असन्तुष्टिको हुन्डरी मात्र छैन; प्रेम, करुणा र आत्मीयताको गहिरो तलाउ पनि छ ।”
तमू ह्युल छोंज धिंका अध्यक्ष धनमान गुरुङले गुरुङ समुदायले मान्ने वर्ग अनुसार सोमबार रातिदेखि नै सर्प वर्गबाट ता ल्हो (घोडा) वर्गमा प्रवेश गरेको यस वर्षमा नेपाल र नेपालीका लागि शुभ वर्ष हुने र सबैको मनोकामना घोडाकै गतिमा पूरा हुने विश्वास रहेको बताउनुभयो । आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे शेर्पाले नेपाली आदिवासी जनजातिको मौलिक पर्वहरूले नेपाल र विदेशमा रहेका नेपालीको मनमा हर्ष उल्लास, एकता, सद्भावको वर्षा गर्ने बताउनुभयो ।
विकल्प निर्वाचन मात्र
प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र विकास गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
मुलुक अब निर्वाचनमा होमिइसकेको बताउँदै उहाँले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग मङ्गलबार भएको भेटमा उहाँले त्यस्तो बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले भन्नुभयो, “धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ । सबै खालका संशयलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा होमिएको छ ।
यस्तो बेला सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ । यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ ।”अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न प्रधानमन्त्री कार्कीले सबैसँग आग्रह गर्नुभयो ।
“हामी पनि न्यायका पक्षधर हौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ । भ्रष्टाचारको अन्त्य, शोषितपीडित वर्गलाई न्याय दिलाउने प्रव्रिmयाको थालनी गरेका छौँ । सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ ।” प्रधानमन्त्री कार्कीले अभियानका अगुवा प्रसाईंलाई भन्नुभयो, “तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ । अझै थप छलफल गर्दै जाऔँला ।”
प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिनुभयो ।