• १५ पुस २०८२, मङ्गलबार

सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्य : गृहमन्त्री अर्याल

blog

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

विराटनगर, पुस १५ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ।

मंगलबार मोरङको विराटनगर आइपुग्नु भएका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ यो सरकारले काम गरिरहेको बताउनुभएको हो। 

गृहमन्त्री अर्याल भोलि बुधबार हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार यता आइपुग्नु भएको हो। 

मोरङस्थित बुधनगरमा सन् २०२० बाट संचालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो। 

अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको मन्त्री अर्यालले बताउनुभयो। 

शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुननसक्ने बताउनु हुँदै  मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकोले त्यसतर्फ सचेत भएर आफ्ना रणनीति तय गरेको पनि बताउनुभयो। 

एक सय २९ बिगाहामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकोसमेत उहाँले बताउनुभयो। त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत बताउनुभयो। 

मंगलबार गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुनःमर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गर्नुभयो। सो क्रममा सिडीओ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरुबारे बृफिङ गर्नुभएको थियो। 

यस्तै, मन्त्री अर्यालले कोभिड–१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नुभयो। हाल यो होल्डिङ सेन्टर खाली अवस्थामा सेनाको निगरानीमा रहेको छ।