शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लिलाधर वली
घोराही, पुस १५ गते। अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीद्वारा मंगलबार जारी विज्ञप्तिमा पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिनसम्म विद्यालय बन्द रहने उल्लेख गरिएको छ।
चिसो मौसमका कारण विद्यालयमा नियमित पठनपाठन गर्दा विद्यार्थीहरू बिरामी पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ।
केही दिनदेखि बढेको चिसोसँगै बाक्लो हुस्सुका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। चिसो बढ्दा बालबालिका, जेष्ठ नागरिक तथा दैनिक मजदुरी गरिखाने वर्ग प्रभावित बनेका छन्।