• १५ पुस २०८२, मङ्गलबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ : फरक नाममा नागरिकता लिएको खुल्यो

blog

प्रहरीले पक्राउ गरेका फरार प्रतिवादी भीमबहादुर तामाङ ।

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) पुस १५ गते ।  कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । नाम तथा पहिचान परिवर्तन गरेर लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चौबिसे गाउँपालिका–३ का ६२ वर्षीय भीबहादुर तामाङलाई पक्राउ गरेको हो । तत्कालीन धनकुटाको कुरुले तेनुपा गाविस–८, हालको चौविसे गाउँपालिका–४, स्थित कुरुले घर भएका ५७ वर्षीय टंकप्रसाद पोखरेललाई मादकपदार्थ सेवन गरी कुटपिट गरेर तमोर नदीमा फ्याकी हत्या गरेको ठहर जिल्ला अदालत धनकुटाले गरेको थियो। तामाङले २०५७ कात्तिक १२ गते पोखरेलको हत्या गरेका थिए ।

तामाङलाई जिल्ला अदालत धनकुटाले २०६६ जेठ २३ गते गरेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकेको थियो । फरार रहेका प्रतिवादी मोरङ केराबारी गाँउपालिका–६, स्थित आफ्नै घरबाट पुस १३ गते लुकीछीपी बसोबास गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख थापा क्षेत्रीका अनुसार वास्तविक नाम भीमबहादुर तामाङलाई परिवर्तन गरी मेघबहादुर तामाङको नामबाट नागरिकता समेत लिइएको पाइएको छ। फैसला कार्यन्वयनका लागि सम्मानित जिल्ला अदालत बुझाइएको प्रहरीको भनाइ छ ।