• १५ पुस २०८२, मङ्गलबार

मधुपर्कको सुदूरपश्चिम–कर्णाली विशेषाङ्क लोकार्पित

blog

मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्क विमोचन हुँदै । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १५ गते । गोरखापत्र संस्थानको प्रकाशन साहित्यिक पत्रिका मधुपर्कको सुदूरपश्चिम र कर्णाली विशेषाङ्कको धनगढीमा विमोचन भएकोे छ । 

सुदूरपश्चिममा उल्लासपूर्वक मनाइने पुसे १५ को अवसर पारेर आज मधुपर्कको पुसको अङ्क विमोचन गरिएको हो । सुदूरपश्चिम साहित्य समाज धनगढी, डेउडा प्रतिष्ठान धनगढीले आयोजना गरेको पुसे १५ विशेष कार्यक्रमको अवसरमा यो अङ्क विमोचन गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, विशिष्ट अतिथि मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी, साहित्यकार श्रेष्ठप्रिया पत्थर लगायतले संयुक्त रुपमा मधुपर्कको विशेषाङ्क विमोचन गर्नुभयो ।  

कार्यक्रममा संस्थानका महाप्रबन्धक ऐरीले संघीयताको अभ्यास गर्ने प्रयासस्वरुप मधुपर्कको एउटा अङ्क सुदूरपश्चिम र कर्णालीलाई केन्द्रित गरेर प्रकाशन गरेको बताउनुभयो । “मुलुकको सामाजिक, राजनीतिक, प्रशासनिक संरचना जुन छ, त्यो सङ्घीयता अनुकूल छकि छैन, त्यसको हामीले कसरी अभ्यास गर्न सक्छौं भनेर प्रयास थालेका छौं” उहाँले भन्नुभयो । 


महाप्रबन्धक ऐरीले नेपालको साहित्यिक लिगेसी बोकेको मधुपर्कले यो विशेषाङ्क निकालेर नेपाली साहित्य आकाशमा मधुपर्कको रहेको उचाइमा एउटा अर्को इतिहास थपेको बताउनुभयो । उहाँले २०२५ सालदेखि सुरु भएको मधुपर्क भूगोल केन्द्रित गरेर पहिलो पटक प्रकाशन भएको र त्यसको सुरुवात पनि सुदूरपश्चिम तथा कर्णालीबाट गरेको उल्लेख गर्नुभयो । 

दर्शन बन्नमा भाषा, साहित्य, संस्कृतिको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले थप्नुभयो, “हामी जे छौं, सुदूरपश्चिमेली, पश्चिमेली वा कर्णालीबासी, नेपाली जे भने पनि हाम्रो समाजको संरचना बन्नमा हाम्रो दर्शन महत्वपूर्ण छ । हाम्रो दर्शन, डेउडा, यहाँको डोटेली भाषा, हाम्रो संस्कृति यहाँको सभ्यता हो । त्यो सभ्यता चिनाउने गरी मधुपर्कको विशेषाङ्क ऐतिहासिक रुपमा प्रकाशन गर्न पाएकोमा संस्थानको महाप्रबन्धको हैसियतले र यो प्रकाशनको प्रकाशकको हैसियतले अत्यन्त गौरवको अनुभूति भएको छ ।”

कार्यक्रममा मधुपर्कको निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले न्याय हराए गोरखा जानु भनेजस्तै संस्कृति र सम्पदा हराए कर्णाली र सुदूरपश्चिम आउनु पर्ने उखान बनाउन आवश्यक करहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सभ्यता हराए यहीँ आउने हो । यहाँको खस सभ्यता, यहाँको खस राज्य, यहाँको साम्राज्य जुन थियो एक जमानामा, त्यसको खोजी गर्नु पर्यो भने हामी आउने यहीँ नै हो ।” 

त्यस्तै, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिम र कर्णाली क्षेत्रको विशाल संस्कृति र साहित्यलाई माथि उठाउने मधुपर्कको ठुलो योगदान रहने बताउनुभयो । उहाँले मधुपर्कसँग सुदूरपश्चिम प्रदेश र यहाँको साहित्यकारको आत्मीयता रहेको चर्चा गर्नुभयो । 


कार्यक्रममा साहित्यकार श्रेष्ठ प्रिया पत्थरले मधुपर्कमा सुदूरपश्चिमले अपनत्व पाएको बताउँदै यसमा रचना छापिनु भनेको स्तरीय छ भन्ने प्रमाण रहेको बताउनुभयो । उहाँले मधुपर्कलाई आकाशको जुनको संज्ञा दिनुभयो । 

पुस १५ विशेष कार्यक्रमको अवसरमा विभिन्न साहित्यकारहरुको जमघट रहेको थियो । कार्यक्रममा डेउडा, गाउँखाने कथाका साथै कविता वाचन पनि गरिएको थियो । कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले गर्नुभएको थियो ।