• १५ पुस २०८२, मङ्गलबार

‘बालविवाह अन्त्य गर्न छोराछोरी शिक्षित बन्नुपर्छ’

blog

जनकपुरधाममा बालविवाह रोकथामसम्बन्धी कार्यक्रममा सहभागीहरु । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, पुस १५ गते । मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको भन्दै नियन्त्रणका लागि जनचेतनाको साथै छोराछोरीलाई शिक्षित बनाउनु पर्ने बक्ताहरुले बताएका छन् । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषासँगको समन्वयमा लाइफ नेपालले आयोजना गरेको बाल विवाहविरुद्ध प्रहरीको स्वतः स्फूर्त कारवाही सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरुले जोड दिएका हुन् । 

वक्ताहरुले बालविवाहलाई कानुनले बर्जित गरे पनि बालविवाह रोकथामका लागि निर्माण भएको कानुनको कडाइका साथ कार्यान्वयन नभएको कारण पनि बालविवाह घटनुको साथै बढदै गएको बताउनुभयो । वक्ताहरुले अभिभावकले बालविवाह गराएको घटनामा कमि आए पनि २० वर्ष नपुग्दै भागी विवाह गर्नेको संख्या बढदै गएको उहाँहरुको भनाइ छ । 

मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव निर्मला मिश्रले बालविवाह नियन्त्रण भइरहँदा भागी विवाहको समस्या झन विकराल बन्दै गएको भन्दै यसको रोकथामका लागि सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका बरिष्ठ प्रहरी नायव निरीक्षक टेकबहादुर कार्कीले बालविवाह भइरहेको छ भने सन्दर्भमा कहिँ कतैबाट प्रहरीलाई सूचना प्राप्त भएमा प्रहरीले स्वतःस्फुर्त रुपमा सोबारे बुझेर स्थानीय सरकारसँगको समन्वयमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने गरेको बताउनुभयो ।

मधेश प्रदेशमा बढी अभिभावकले बालिका हराएको उजुरी लिएर आउने गरेको बताउनुभयो । उहाँले त्यस्तो उजुरी आएमा प्रहरीले शून्य सहनशीलताको सिद्धान्त टेकेर अनुसन्धान अगाडि बढाउने गरेको बताउनुभयो । उहाँले विभिन्न घटनाबारे चर्चा गर्दै समाजिक सञ्जालबाटै केटाकेटीबिच प्रेम भएर भागी विवाह हुने गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा लाइफ नेपालका पूजा शर्माले मधेश प्रदेशमा बाल विवाहको अवस्था र कानुनी व्यवस्था बारेमा आफनो प्रस्तुति गर्दै सन् २०१९ मा भएको राष्ट्रिय हेल्थ सर्भेअनुसार मधेश प्रदेशमा ५२.५ प्रतिशत बालविवाह रहेको तथ्याँक प्रस्तुत गर्नुभयो । उहाँले धनुषामा मात्र ५८.५ प्रतिशत बालविवाह रहेको बताउनुभयो । 

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर बाल सञ्जाल जनकपुरधामका अध्यक्ष वैष्णवी साह, विभिन्न पालिकाका महिला वालवालिका शाखाका प्रमुखहरु, लाइफ नेपालका लक्ष्मी साह, डोली शर्मा, सुचिता झा, शहिदा खातुन सहितले धारणा राख्नुभएको थियो ।