न्युयोर्क, पुस १५ गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ ।
गत १०-१७ डिसेम्बरको बिचमा आएको आँधीले आवासिय भवन ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरमा क्षति पुगेको एजेन्सीले जनाएको छ । सामाजिक सञ्जाल एक्समार्फत युएनआरडब्लूले लामो युद्ध र विस्थापनले गाजाका मानिसलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरमा बस्न बाध्य पारेको पुष्टि गरेको छ ।
आँधीलाई “प्राकृतिक प्रकोपको रूपमा वर्णन गर्दै यसले व्यापक विनाश र इजरायलीको नरसंहारपछि सुरक्षित आश्रयको अभावले गर्दा तिव्र क्षति भएको जनाएको छ । युएनआरडब्लुएका अनुसार आँधीका कारण कम्तिमा १७ वटा भवन ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रय क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तिमा दुई लाख ३५ हजार मानिस प्रभावित भएको जनाइएको छ ।
यस महिनाको सुरुमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनको आश्रय स्थल बाढी प्रभावित भएको जनाइएको छ । रासस/क्युएनए