मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), पुस १५ गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरुङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरु गर्नुभयो । छोसेर र ल्होमन्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरुङ दुई वर्षअगाडिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । युवा व्यवसायी गुरुङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारि पुगेर सामान खरिद गरी मनग्गे आम्दानी गर्नुहुन्छ ।
गुरुङ जस्तै नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय भदौ महिनाको ३० गतेदेखि व्यावसायिक सञ्चालनमा आएपछि छोसेरका कुन्साङ गुरुङ, लाक्पा छेचुङ गुरुङ, फुर्बु साङ्मु गुरुङले समेत घरायसी काम छोडेर व्यवसाय सुरु गर्नुभएको छ ।
एकल, परिवार र साथीहरू मिलेर कोरला नाकामा व्यवसाय गर्नेमा करिब ६० प्रतिशत युवा छन् । न्यूनतम तीन लाखदेखि १५ लाख रुपियाँबाट व्यवसाय सुरु गरेका युवाले अहिले पर्यटक तथा विभिन्न स्थानमा सामान बिक्री गरी रहरलाग्दो आम्दानी गर्ने गरेका छन् ।
वैदेशिक रोजगारी, सिकर्मी, डकर्मी, सवारीचालक पेसा अपनाएका युवाले यो राम्रो अवसर पाएका छन् । युवा व्यवसायी गुरुङ भन्नुहुन्छ, “सिकर्मीबाट कमाएको पैसाले कोरलामा व्यवसाय सुरु गरेको थिए, अहिले व्यवसायले मलाई बाटो देखाएको छ, थप हौसला बढाएको छ ।”
युवा व्यवसायी गुरुङले घरायसी काम गर्ने, खेतीपाती, मजदुरीमा संलग्न व्यक्तिहरू कोरला नाका खुलेपछि व्यवसायमा लागेको बताउनुभयो । वर्षको नौ महिना कोरला नाकामा व्यवसाय गर्ने व्यक्तिहरू अहिले चिनियाँ र स्थानीय उत्पादन लिएर जाडो छल्न पोखरा, काठमाडौँलगायतका क्षेत्रमा गएको युवा व्यवसायी गुरुङले बताउनुभयो ।
मङ्सिर, पुस र माघ महिना चिसोबाट जोगिन जिल्लाबाहिर जाने स्थानीय व्यक्तिहरूले घुम्ती व्यवसायबाट समेत राम्रो आम्दानी गर्ने गरेका छन् । कोरला नाकाबाट चिनियाँ बजारमा पुगेर विद्युतीय सवारीसाधन, सामान ढुवानी गर्ने मालवाहक ट्रक र कन्टेनर लिएर सीमापारि आउने करिब ८० जना मुस्ताङका युवाले रोजगारी पाएको ल्होमन्थाङ गाउँपालिका–२ का वडाध्यक्ष कर्म नाम्ङ्ग्याल गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङका अनुसार कोरला नाकाले यहाँका युवालाई व्यवसायी बनाएको छ । अहिले माथिल्लो क्षेत्रमा काम गर्नेलाई रोजगार नै रोजगार दिएको छ ।
कोरला नाकाबाट चिनियाँ क्षेत्रमा सामान खरिद तथा ढुवानीका लागि मुस्ताङको नागरिकता भएकालाई मात्रै प्रवेश अनुमति छ । चिनियाँ भन्सार कार्यालयबाट सामान लिएर करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउने चालकबाहेक काम गर्ने मजदुरले समेत दैनिक न्यूनतम पाँच हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकामा करिब ५० वटा पसलमा डेढ सय जनाभन्दा बढीले व्यवसाय र चिनियाँ भन्सार कार्यालयमा पुगेर सामान खरिद गर्ने गरेको ल्होमन्थाङ गाउँपालिका–१, छोसेरका व्यवसायी छिरिङ युटिन गुरुङले बताउनुभयो ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले कोरला नाकाले स्थानीयलाई रोजगार र व्यवसायमा सहजता प्रदान गरेको बताउनुभयो । नाका सञ्चालनमा आएपछि स्थानीयको सिप अनुसारको रोजगारी मिलेको भन्सार कार्यालय प्रमुख खड्काको भनाइ छ । कोरला नाकाबाट सामान ढुवानी तथा विद्युतीय सवारीसाधन भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि १८६ किलोमिटर दुरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरासम्म लैजाने तथा नाका क्षेत्रमा नेपाली व्यवसायीले समेत स्थानीयलाई नै अवसर दिने गरेका छन् ।
नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडक क्षेत्रमा सुनसान भए पनि नेचुङ र कोरला नाका क्षेत्रमा पर्यटकबाहेक भन्सार प्रयोजनका लागि पुगेका र स्थानीयको भिडभाड नै छ । कोरला नाकामा उपल्लो मुस्ताङसँगै तल्लो क्षेत्रबाट र मजदुरीका लागि बाहिरी जिल्लाबाट समेत जान थाले पनि व्यवसायमा भने स्थानीय मात्रै रहेका छन् ।
नाकामा चालु आर्थिक वर्ष २०८२/८३ सालको भदौ ३० गतेदेखि चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनर भित्रिएसँगै पुस महिनाको १० गतेसम्म पाँच अर्ब छ करोड ६२ लाख रुपियाँ राजस्व उठाएको छ । यो अवधिमा १० अर्ब ८२ करोड ९८ लाख रुपियाँ बराबरको सामान आयात तथा १८ करोड ९७ लाख ७८ हजार रुपियाँ बराबरको निर्यात भएको जनाएको छ ।