काठमाडौँ, पुस १५ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ भएको बताउनुभएको छ ।
मङ्गलबार नेपाली तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै संयोजक प्रचण्डले तिनैले समाजलाई विविधताभित्र पनि एकताबद्ध बनाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आपसी सद्भाव र सहअस्तित्व हाम्रो सांस्कृतिक जीवनको सुन्दर आधार हो । तमु समुदायले श्रद्धा र हर्षका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त रूपमा उजागर गर्दै आएका छन् ।’’
बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता सुदृढ हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका यी बहुल समुदाय तथा उनीहरूका संस्कृतिहरूलाई गणतन्त्रको छहारीमा संरक्षण, सम्मान र प्रवर्धन गर्दै फक्रिन दिने वातावरण बनाउनु आजको आवश्यकता हो ।’’