• १५ पुस २०८२, मङ्गलबार

प्रदेशको विकासका लागि सङ्घीयता

blog

नवलपरासी समाचारदाता 

कावासोती,  पुस १५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो । 

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–११ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको बलिदानबाट प्राप्त गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल सङ्घीय लोकतान्त्रिक प्रणालीमा अघि बढिसकेको उल्लेख गर्दै जनताको अभिमत अनुसार नै मुलुकमा गणतन्त्र स्थापना भएको र प्रदेश सरकारले यहाँको शिक्षा, स्वास्थ्य र जलस्रोतको विकासमा काम गरिरहेको बताउनुभयो । 

उहाँले नवलपुर जिल्ला समुन्नत र आर्थिक दृष्टिकोणले समेत समृद्धितर्फ अघि बढिरहेको भन्दै यहाँको शिक्षाको विकासमा आगामी बजेटमा प्रदेश सरकारले विशेष सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले आठ किलोमिटर बाटो नखुल्दा त्रिवेणीका बासिन्दाले झन्डै ६० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै प्रदेश सरकार तत्काल नाका खोल्न सकारात्मक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद महेन्द्रध्वज जिसीले नवलपुरको विकासमा गण्डकी प्रदेश सरकारले अझै चासो देखाउनुपर्ने र नवलपुर प्रदेशकै मुख्य जिल्लाका रूपमा रहेकाले पनि नवलपुरको विकासमा गम्भीर हुन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।