पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस १५ गते । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै रणनीतिक सडक सञ्जाल विस्तारको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ ।
‘सुन्दर र समृद्ध पाल्हीनन्दन’ को नारालाई सार्थक बनाउन गाउँपालिकाले गौरवको योजनाका रूपमा रामग्राम नगरपालिका वडा नं. ७ उजैनी चोकलाई पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ४ र ५ स्थित चमनटोलासम्म जोड्ने गरी आधुनिक सडक र पक्की नाली निर्माण गरिरहेको छ ।
आठ करोडको लगानीः प्रदेश र स्थानीय सरकारको साझेदारी
यो रणनीतिक सडक आयोजना कुल आठ करोड रुपियाँको लागतमा निर्माण भइरहेको छ । जसमा लुम्बिनी प्रदेश सरकारको पाँच करोड र पाल्हीनन्दन गाउँपालिकाको तीन करोड रुपियाँ साझेदारी रहेको छ । निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ, जसले स्थानीयमा उत्साह जगाएको छ ।
उजैनीदेखि चमनटोलासम्मको सहज पहुँच
यो सडकले रामग्राम नगरपालिका वडा नं. ७ उजैनी चोकलाई पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ४ र ५ स्थित चमनटोलासम्म जोड्ने छ । यो खण्ड विस्तार भएपछि जिल्लाको ग्रामीण भेग सिधै सदरमुकाम परासीसँग जोडिने छ । यसलाई गाउँपालिकाको मेरुदण्ड मानिएको छ, जसले आवतजावतलाई मात्र नभई स्थानीय व्यापार र कृषिको बजारीकरणमा समेत ठुलो मद्दत पुर्याउने छ ।
विकासमा गुणस्तर र पारदर्शिताको प्रतिबद्धता
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले सडक निर्माणलाई पालिकाकै एक ऐतिहासिक र गौरवको योजनाको रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा गुणस्तर र पारदर्शिता मेरो मुख्य प्राथमिकता हो । सडक सञ्जाल विस्तारले स्थानीयको जनजीवन सहज बनाउनुका साथै गाउँको स्वरूप नै बदल्नेछ ।’’
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले यो सडक खण्डले पालिकाको समग्र आर्थिक गतिविधिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यो सडकले बजार पहुँचलाई सहज बनाउनुका साथै यातायातको लागत समेत घटाउने छ ।
डुबान समस्याको दीर्घकालीन समाधान
कृषि र व्यापारका दृष्टिकोणले महत्त्वपूर्ण भए पनि विगतमा सडक र नालीको उचित व्यवस्था नहुँदा सामान्य वर्षामा पनि सडक जलमग्न हुने र स्थानीयका घरमा पानी पस्ने ठुलो समस्या थियो । हाल निर्माणाधीन आधुनिक सडक र पक्की नालीले वर्षाको पानीलाई सहजै निकास दिने भएकाले बस्ती सुरक्षित हुने र सडकको आयु समेत लम्बिने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले अन्य वडाहरूमा पनि यस्तै रणनीतिक सडकहरू विस्तार गर्ने लक्ष्य राखेको छ । यो सडक सम्पन्न भएपछि पाल्हीनन्दन गाउँपालिकाले मात्र नभई आसपासका बासिन्दाहरूलाई समेत दैनिक कामकाज र व्यापारका लागि सदरमुकाम पुग्न निकै सहज हुने देखिन्छ ।