• १५ पुस २०८२, मङ्गलबार

कृषकलाई आलुको बीउ वितरण

blog

अर्खलेमा जनकदेव जातको आलु बीउ वितरण गरिदैं । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस १५ गते ।
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास निरन्तरता कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ । आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आलु कृषकको आय स्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ९० क्विन्टल आलु बीउ वितरण गरेको हो ।

रेसुङ्गा नगरपालिका–४ अर्खलेमा आलुको बीउ कृषकलाई हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थीले यहाँ आलु उत्पादनको प्रचुर सम्भावना रहेकाले कृषकलाई व्यावसायिक रुपमा कृषि पेशामा लाग्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउनुभयो । कृषकको आयआर्जन वृद्धि तथा व्यावसायिक आलु खेती प्रवर्धन गर्न आलु पकेट विकासलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

यस कार्यक्रमले स्थानीय उत्पादन वृद्धि गर्न तथा कृषकहरुलाई आत्मनिर्भर बनाउने विश्वास लिएको भन्दै नगरप्रमुख पन्थीले उत्पादित आलुको बजारीकरण र प्राविधिक सहयोगका लागि पनि कृषकलाई नगरपालिकाले जुनसुकै समयमा पनि सहजीकरण गर्ने बताउनुभयो । रेसुङ्गा नगरपालिकाले गत वर्ष बीउ प्रयोजनका लागि आलु प्रवर्धन कार्यक्रमअन्तर्गत हिउँदे बालीका लागि कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको नगरपालिकाले जनाएको छ ।

कृषकको मागअनुसार जनकदेव आलु वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्नुका साथै आर्थिक वर्ष २०८२–२०८३ मा नगरपालिकाको वडा ४, ६ र ११ मा आलु पकेट विकास कार्यक्रमअन्तर्गत किसानलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्न लागिएको हो । अन्य जातको आलुभन्दा पनौतीको जनकदेव आलु निकै स्वादिलो र उत्पादन पनि धेरै हुने भएको बताइएको छ ।