रामकृष्ण बोहरा
बागलुङ, पुस १५ गते । बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभूवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै तीन करोड रकम सङ्कलन भएको छ ।
विद्यालयले सोमबार आम्दानी खर्च सार्वजनिक गर्दै महायज्ञमा दुई करोड ९० लाख २० हजार सात सय ५६ रुपियाँ कुल आम्दानी भएको जनाएको छ । महायज्ञमा ४९ लाख ५० हजार नौ सय ७० रुपियाँ खर्च भएको छ । महायज्ञको कुल आम्दानीमध्ये ९६ लाख ७४ हजार ६ सय ६७ रुपियाँ नगद जम्मा भएको र महायज्ञमा कबोल गरिएको एक करोड ९३ लाख ४६ हजार ८८ रुपियाँ उठ्न बाँकी रहेको विद्यालयका शिक्षक कमल पौडेलले जानकारी दिनुभयो ।
महायज्ञ आयोजक समितिले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने, सहयोग÷दान अर्पण गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । पवित्र उद्देश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको थियो । गत मङ्सिर २१ देखि २८ गतेसम्म त्रिभूवन माविको प्राङगणमा महायज्ञ सञ्चालन गरिएको थियो ।
बाली विज्ञान विषयको पठनपाठन सञ्चालन गरिरहेको विद्यालयले आगामी दिनमा सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा पनि अध्यापन गराउने लक्ष्यसहित धनधान्याचल महायज्ञको आयोजना गरिएको हो । विद्यालयले स्वर्ण महोत्सवमा सङ्कलन गरेको ८० लाख रुपियाँले भौतिक पूर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत निजी स्रोतका शिक्षक राखेर समयसापेक्ष विषय पढाउँदै आएको छ ।
महायज्ञमार्फत सङ्कलित रकमबाट कोष बनाउने लक्ष्य छ । त्यो कोषमार्फत बडिगाड गाउँपालिका मात्र नभई गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको आर्कषक शैक्षिक गन्तव्य बनाउने योजना छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको सदुपयोग गर्न सक्ने वातावरण बन्ने प्रअ ढालमणि भण्डारीले बताउनुभयो ।
सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । विद्यालयमा हाल एक हजार एक सय ८७ विद्यार्थी अध्ययनरत छन् ।