• १५ पुस २०८२, मङ्गलबार

शीतलहरका कारण सप्तरीका आधा दर्जन विद्यालय बन्द

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १५ गते ।
केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुने क्रम जारी छ ।

शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुने क्रम बढ्दै गएको हो ।

मङ्गलबारसम्म जिल्लाका ६ वटा विद्यालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै पुस १८ गते सम्मका लागि सूचना जारी गरेर विद्यालय बन्द गरेको छ ।

राजविराज, कञ्चनरुप, डाक्नेश्वरी नगरपालिका र महादेवा, अग्नीसाइर कृष्णासवरण तथा राजगढ गाउँपालिकाले विद्यालय पठनपाठन कार्य बन्द रहने जनाएको छ ।

राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्रप्रसाद यादव, कञ्चनरुपका शिक्षा शाखा प्रमुख प्रेमकुमार चौधरीले जारी गर्नुभएको सूचनामा पुस १८ गते सम्मका लागि सबै विद्यालय बन्द रहने उल्लेख छ ।

यसअघि महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डल तथा राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले सूचना जारी गर्नुहुँदै पालिकाअन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिनुभएको थियो ।

अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी  नियमित पठनपाठन कार्य बन्द पालिकाहरुले जनाएको छ ।

सप्तरीमा विगत दुई सातादेखि चिसो बढेसँगै लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको हो । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो घाम नउदाउँदा बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।