अर्जुन काफ्ले
स्याङ्जा, पुस १५ गते । स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ देखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ ।
वालिङ खेलमैदानमा सञ्चालन हुने वालिङ महोत्सव प्रादेशिकगण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको रूपमा प्रस्तुत गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सव यसपटक पनि समृद्ध वालिङको लक्ष्य सहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले गरिएको हो ।
महोत्सवले कृषि, हस्तकला, सेवा, उद्योग र व्यापारसँगै शिक्षा, सूचना प्रविधि र पर्यटनलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष चेत नारायण श्रेष्ठले बताउनुभयो ।
नेपाल सरकारले अघि सारेको वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा महोत्सवले थप ऊर्जा दिने अपेक्षा समेत गरिएको छ ।
महोत्सवमा ६० कृषि र ३५० व्यापारिकसहित ४१० रहने छन् भने महोत्सवमा विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, कृषि तथा स्थानीय हस्तकलाका स्टल, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी विशेष आकर्षण रहने छन् ।
शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्रीसमेत प्रस्तुत गरिनेछ ।
महोत्सवमा मनोरञ्जनतर्फ स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, भजन, रत्यौली र लोक–दोहोरीगीत प्रतियोगितासहित स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । पर्यटन प्रवद्र्धनका लागि जिल्लाका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी र होमस्टे आवास व्यवस्थासमेत मिलाइनेछ । महोत्सव अवधिभर निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवले वालिङको पहिचानलाई अझ मजबुत बनाउने साथै कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्दै बाह्य लगानी भित्र्याउने प्राथमिकता रहेको संघका सचिव तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक पिताम्बर खनालले बताउनुभयो ।
करिब तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर १० करोडभन्दा बढी आर्थिक कारोबार हुने अनुमान आयोजक समितिले गरेको छ ।
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी र एक करोड १४ लाख ५१ हजार खर्च गरेर ५३ लाख ४९ हजार रुपियाँ बचत गर्ने लक्ष्य आयोजक संघले राखेको छ ।