• १५ पुस २०८२, मङ्गलबार

‘हिमाल वारिपारिको संवाद’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १५ गते । चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा चीनको बेइजिङमा ‘हिमाल वारिपारिको संवाद : चीन–नेपाल थाङ्का तथा पौभासङ्ग्रह’ विमोचन तथा कला प्रदर्शनी सम्पन्न भएको छ ।

कार्यक्रममा चीनका लागि बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल, चीनको राज्य परिषद्का पूर्वकाउन्सिलर हु पेयुआन, बेइजिङ च्यारिटी वानली फाउन्डेसनका मानार्थ अध्यक्ष वान बुलगायतको उपस्थिति थियो । विमोचित पुस्तकमा ९९ वटा उत्कृष्ट कलाकृति समावेश गरिएको छ । जसमा ६६ वटा नेपाली पौभा (नेपाली शैलीको थाङ्का) र ३३ वटा चिनियाँ थाङ्का रहेका छन् ।

कार्यवाहक राजदूत खनालले भौगोलिक निकटता र सांस्कृतिक समानताले प्राचीनकालदेखि नै दुई देशका जनताबिच पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले यस सङ्ग्रहले भविष्यका कलाकारलाई प्रेरणा दिने र कलाप्रेमीका लागि महत्वपूर्ण स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । सिचुआन फाइन आटर्स पब्लिसिङ हाउसका निर्देशक वाङ डिङले पुस्तकले एउटै उद्गमस्थल तर फरक शैलीका कलाहरू बिचको संवाद स्थापित भएको बताउनुभयो ।