राधा लुइटेल
फिदिम, पुस १५ गते । आफ्ना दौँतरी धेरै बसाइँ सरेर मधेश झरिसके पनि लीलावल्लभ नेपाल (दुर्गा) भने गाउँमै रमाइरहनुभएको छ । “यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथे भने त म बसाइँ सरिसकेको हुन्थेँ । यिनले दिने आम्दानी सम्झेर अडिएको छु,” पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभले भन्नुभयो ।
“छोराछोरी कोही विदेश त कोही काठमाडौँ पुगिसके । छिमेकी र इष्टमित्र धेरै जसो डोको बोक्दै बसाइँ सरे, मलाई चाहिँ यही ठाउँ प्यारो छ,” उहाँले भन्नुभयो । लीलावल्लभ प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँसहित फाल्गुनन्द–७, आङ्सराङका एक सयभन्दा धेरै किसानलाई सुन्तलाले टिकाएको छ ।
धान, मकै र कोदोलगायतका अन्न फल्ने खेतबारी बाँझिए पनि यहाँका सुन्तला उत्पादक किसान आफ्ना पाखुराको बलमा श्रम र पसिना बगाएर उत्पादन गर्दै राम्रो मूल्य लिइरहेका छन् ।
१२ रोपनीमा सुन्तला रोपेका नेपालले गत वर्ष नौ लाख रुपियाँको सुन्तला बेचेको सुनाउनुभयो । यस वर्ष उत्पादन अझै बढेकाले १२ लाखसम्म पाउने उहाँको अपेक्षा छ । सोरकुमार आङ्देम्बे नेपालकै छिमेकमा २०५९ सालमा बसाइँ सरेर आउनुभयो । सुन्तला रोपेको १० रोपनी जमिन र घरलाई छ लाख रुपियाँमा किनेर तिनै सुन्तला स्याहार्न थालेका उहाँले पहिलो वर्ष ८० हजारको उत्पादन बेच्नुभयो । झन्डै दुई दशकदेखि तिनै सुन्तला स्याहार्दै आएका आङ्देम्बेले गत वर्ष छ लाख रुपियाँ आर्जन गर्नुभयो ।
यस वर्ष व्यापारीले नौ लाख रुपियाँमा बगानका सबै सुन्तला किनेर लैजाने प्रस्ताव गरे पनि साढे १० लाख रुपियाँसम्म लिने आशयले बिक्री नगरेको सोरकुमारकी पत्नी गङ्गाकुमारीले बताउनुभयो ।
यस स्थानमा सुन्तला रोप्दै आएका प्रायः किसान तत्काल गाउँ छोड्ने मनस्थितिमा छैनन् । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने र रोग किराको उपचारसँगै सामान्य गोडमेल र सिँचाइ गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले यो खेतीमा किसानको आकर्षण बढेको हो ।
पछिल्लो समय यहाँ राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको प्राविधिक एकाइ पाँचथरमार्फत सुन्तला जोन कार्यक्रम पनि लागु भएको छ । कार्यक्रमले सुन्तला खेतीमा नवीनतम प्रविधिको विकाससँगै रोग किराको अनुसन्धान गर्ने र उत्पादनको बजारीकरणमा किसानलाई सहजीकरण गरिरहेको जोनका अध्यक्ष अमर आङ्देम्बे बताउनुहुन्छ । फाल्गुनन्द–७ मा झन्डै एक सय किसान सुन्तला खेतीमा आबद्ध छन् । उनीहरूको उत्पादनबाट बर्सेनि वडामा सात करोड रुपियाँको हाराहारी रकम भित्रिन्छ । गाउँपालिकाले पनि यस वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर किसानलाई बिरुवा वितरणदेखि शीतभण्डार निर्माण गरेर उत्पादनको भण्डारण गर्ने जस्ता योजना अघि सारेको वडाध्यक्ष देउकुमार आङ्देम्बेले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार पाँचथरमा ९६० हेक्टरमा सुन्तला खेती हुन्छ, जसको एक तिहाइभन्दा धेरै हिस्सा फाल्गुनन्द गाउँपालिकाले लिएको छ । फाल्गुनन्द–७ मा जस्तै मिक्लाजुङ–५ र कुम्मायक–४ मा पनि राम्रो सुन्तला उत्पादन हुन्छ ।
झापाको बिर्तामोड, सुनसरीको इटहरी हुँदै काठमाडौँसम्मका व्यापारीले बगैँचा नै कबुलेर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको किसानको भनाइ छ ।