• १ पुस २०८२, मङ्गलबार

कैलालीमा भेटियो ‘रसेल भाइपर’ सर्प

blog

धनगढी समाचारदाता

धनगढी, पुस १ गते । अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलालीमा फेरि भेटिएको छ । टीकापुर नगरपालिका–७ स्थित बैदीमा फेरि रसेल भाइपर सर्प भेटिएको हो । 

स्थानीय गङ्गाराम जैसीको घरबारीमा सोमबार रसेल भाइपर सर्प भेटिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यो वर्ष मात्रै बैदीमा चार वटा रसेल भाइपर भेटिसकेको बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, “यसअघि तीन वटा रसेल भाइपर भेटिएका थिए । अहिले चिसो भएका बेला पनि यो अत्यन्त विषालु सर्प यहाँ देखा परिरहेकाले सचेत रहन आवश्यक छ ।”

बैदीमा रहेको भ्यु टावरदेखि माथिल्लो क्षेत्रमा यो प्रजातिको सर्प फेला परिरहेको उहाँको भनाइ छ । स्थानीयको घरनजिक बारीमा भेटिएको रसेल भाइपर सर्प उद्धारकर्ता विजय लुहारले उद्धार गरेर बस्तीभन्दा टाढा सुरक्षित स्थानमा छोडेको जनाइएको छ । यसअघि कात्तिकमा धान काट्ने मेसिनले च्याप्दा मरेको अवस्थामा बैदीमा रसेल भाइपर भेटिएको थियो । 

सर्प संरक्षण एवं उद्धारमा सक्रिय टीकापुरका लक्ष्मण उपाध्यायले कैलालीमा रसेल भाइपर सर्प नियमित भेटिरहेको बताउनुभयो । उहाँले आफूले पनि थुप्रै रसेल भाइपरको उद्धार गरिसकेको सुनाउँदै यो सर्पले टोकेमा मान्छेको मृत्यु छिटो हुने गरेको उल्लेख गर्नुभयो । 

उपाध्यायले भन्नुभयो, “यो सर्पलाई भारतले चार ठुला सर्पको समूहमा राखेको छ । यो सर्पले टोकेमा मान्छेको मृत्यु छिटो हुन्छ ।” उहाँका अनुसार रसेल भाइपर सर्प सडेगलेको पुराना काठ, झाडी, बाँसको झाडीलगायतमा बस्ने गर्छ ।