सहदेव बस्नेत
जाजरकोट, पुस १ गते । जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सूचकहरु पूरा भएपछि विशेष सभाको आयोजना गरेर छेडागाड नगरपालिकाका वडा नं १२ र १३ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।
विशेष सभामा छेडागाड नगरपालिकाको १३ नम्बर वडालाई छेडागाड नगरपालिकाको तेस्रो र जिल्लाको सातौं बालमैत्री वडा घोषणा गरिएको हो । त्यस्तै वडा नं १२ छेडागाड नगरपालिकाको चौथो र जिल्लाको आठौं वडाको रुपमा घोषणा गरिएको छ ।
जिल्ला समन्वय समितका सदस्य खडगबहादुर बुढाले दुवै वडालाई बालमैत्री वडा घोषणा भएको घोषण गर्दै प्रमाण पत्र हस्तान्तरन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका वुढाले वडाकोबालमैत्री घोषणासँगै दीगोपनका लागि डटेर लाग्न नगरपालिका तथा वडालाई आग्रह गर्नुभएको थियो ।
वडा नं १२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले चुनौतिका बिच गरिएको अथक प्रयासका बाबजुद यतिवेला नगरपालिकाकै चौथोे बालमैत्री वडा घोषणा गर्न सफल भएकोे भनाइ राख्नु भएको थियो । तीन वर्ष पहिलादेखि थालिएको अभियानको प्रतिफल अनुरुप यतिवेला बालमैत्री वडा घोषणा भएको अध्यक्ष खत्रीले भनाइ राख्नु भएको थियो ।
त्यस्तै, वडा नं १३ का वडाअध्यक्ष मोतीबहादुर खत्रीले आफुहरुको मेहनत र साझोदार संस्था पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको पहलमा वडा घोषण गर्न सफल भएको भन्दै धन्यावाद व्यक्त गर्नु भएको थियो । घोषणा कार्यक्रममा विभिन्न झाँकीसहित वडा वासीहरुको सहभागिता रहेको थियो ।
छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले विस्तारै अन्य वडामा पनि यो अभियान अगाडि बढिरहेको बताउनुभयो । बालबालिकानै भविष्यको आधारस्तम्भ भएकाले बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर पालिका अगाडि बढेको उपप्रमुख थापाको भनाइ छ ।
छेडागाड नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर रोकायाले बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरुमा ९५ प्रतिशतभन्दा बढी प्रतिशत नम्बर हासिल गरेको हुनाले दुवै वडालाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक टेकबहादुर सुनारले घोषणासँगै वडालाई यसको दिगोपनका लागि लाग्न आग्रह गर्नुभएको थियो ।