• २९ मङ्सिर २०८२, सोमबार

पासोमा चितुवा

blog

दशरथचन्द (बैतडी),  मङ्सिर २९ गते ।  बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२  धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो । 

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उहाँले बताउनुभयो ।

अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहँुदा समस्या हुने गरेको छ । रासस