लीलाधर वली
घोराही, मङ्सिर २९ गते । दाङको घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन । घोराही–धारापानी सडकखण्डअन्तर्गत पर्ने बबई पुल मर्मत नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।
२०८१ साल असार महिनामा आएको बाढीले पुलको उत्तरतर्फको भागमा क्षति पुर्याएपछि हाल पुलमा एकतर्फी मात्रै सवारी सञ्चालन गर्नुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–५ धर्ना निवासी बिमल नेपाली बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको धारापानी जोड्ने मुख्य सडकमा पर्ने उक्त पुल लामो समयसम्म मर्मत नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
पर्यटन मार्गका रूपमा रहेको मुख्य सडकको पुल मर्मत गर्नु आवश्यक रहेको भन्दै नेपालीले भन्नुभयो, ‘‘लामो समयसम्म क्षतिग्रस्त पुल मर्मत नहुँदा खाडलमा परेर अर्काे दुर्घटना हुनसक्ने खतरा रहेको छ । दुर्घटनाबाट बच्न समयमै पुल मर्मत गर्नुपर्छ ।’’ बाढीले पुलको किनारा भत्किँदा सडक साँघुरो बनेको छ भने जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
सडक डिभिजन कार्यालय दाङले भने बजेट अभावका कारण पुल मर्मत अघि बढाउन नसकिएको जनाएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले मर्मतका लागि बजेट नहुँदा पुलमा क्षति भएको लामो समय हुँदा पनि मर्मत हुन नसकेको बताउनुहुन्छ । बाढीका कारण क्षति भएको पुलको वाल निर्माणका लागि गत वर्ष नै विभागमा पत्राचार गरी बजेट माग गरिएको भए पनि विभागबाट आवश्यक बजेट प्राप्त नभएकाले हालसम्म मर्मत गर्न नसकिएको उहाँले बताउनुभयो ।
सूचना अधिकारी चौधरीले भन्नुभयोे, ‘‘अहिले सरकारको ध्यान मुख्य सडक बनाउनतर्फ रहेको छ, त्यसले गर्दा पनि सहायक धेरै सडक छुटेका छन् । सोही कारण बबई नदी पुलमा पनि बजेट आउन सकेको छैन ।’’
उहाँका अनुसार भत्किएको पुलमा मर्मतका गर्नका लागि करिब ३० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । बाढीका कारण क्षति पुल मर्मतको काम सडक डिभिजन कार्यालयको रहेकाले घोराही उपमहानगरपालिकाले गर्न नसकेको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन शाखा प्रमुख ओम जिएम बताउनुहुन्छ ।