• २७ मङ्सिर २०८२, शनिबार

राष्ट्रिय आवास कम्पनीको सेवाप्रवाह बन्द

blog

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनी ।

बिकास अधिकारी
पश्चिम नवलपरासी, मङ्सिर २७ गते ।
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ । गत मङ्सिर २१ गते नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताले बर्दघाट–एक पुनर्वासमा रहेको आवास कम्पनीका कार्यालय प्रमुख महेन्द्र थापालाई कालोमोसो दलेर कर्मचारीलाई समेत धम्काएकाले सुरक्षाका कारण देखाउदै सेवाप्रवाह बन्द गरिएको छ ।

कार्यालयको सेवा प्रवाह वा कर्मचारीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भए सम्बन्धित निकायमा कानुनी प्रक्रिया अनुसार कारबाहीको प्रक्रियामा जाने बाटो हुँदाहुँदै कर्मचारीलाई आतङ्कित पार्ने काम गरेकाले सेवाप्रवाह स्थगन गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । “फिल्डमा गएर काम गर्नुपर्ने हुन्छ, फेरि कर्मचारी माथि आक्रमण भयो भने के गर्ने, त्यसैले तत्काल सेवा दिन सक्ने वातावरण छैन’’, थापाले भन्नुभयो ।”   

प्रमुख थापाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । बहुमत निकट कम्युनिष्ट युवा सङ्गठन नेपालले कालोमोसो दलेको जिम्मा लिँदै पुनर्वास परियोजनासम्बन्धी काममा व्यापक अनियमितता, ढिलासुस्ती र घुसखोरी गरेको आरोप लगाउँदै  जनकारबाही गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

आवास कम्पनी मातहत पश्चिम र पूर्वी नवलपरासी सहित रूपन्देहीमा समेत गरी २५ सय बिघा जमिन रहेको छ । जोतभोगको आधारमा उक्त जमिनको स्वामित्व हस्तान्तरणका लागि कम्पनीले काम गर्दे आएको छ । कार्यालयले जोतभोगको आधारमा स्थानीय तह मार्फत आएको सिफारिसको आधारमा सर्जमिन गर्ने काम गर्दे आएको थियो । कार्यालय बन्द भएपछि जेनजी आन्दोलनका क्रममा नष्ट भएको विवरण सङ्कलन तथा सर्जमिन गरेर जग्गा हस्तान्तरण गर्ने काम अवरुद्ध भएको राष्ट्रिय आवास कम्पनीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले घटनामा संलग्नको खोजी कार्य भइरहेको बताउँदै सुरक्षाको वातावरण मिलाएर कार्यालयको सेवाप्रवाह सुचारु गर्ने जानकारी दिनुभयो ।