गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २७ गते । बाबुछोराको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह ‘क्यानभास अफ लेटर्स’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यव्रmममा कवितासङ्ग्रहको विमोचन गरिएको हो । कवि महेशबाबु तिमल्सिना र उनका १४ वर्षीय छोरा सम्राटबाबु तिमल्सिनाको संयुक्त द्वैभाषिक कवितासङ्ग्रह हो । कविताहरू शरीर, मन र आत्मा शीर्षकका तीन खण्डमा प्रस्तुत छन्, जसले मानवीय अस्तित्व, भावनात्मक सङ्घर्ष र आध्यात्मिक खोजलाई कलात्मक रूपमा अभिव्यक्त गरेका छन् । कृतिमा कवि महेशबाबुका मूल नेपाली कविता र उनका छोरा सम्राटद्वारा तयार गरिएका अङ्ग्रेजी रूपान्तरणहरू समानान्तर रूपमा समावेश छन् । प्रारम्भमा रमाइलो प्रयोगका रूपमा सुरु भएको पिता–पुत्रको यो सहयात्रापछि साहित्यिक शिल्पमा रूपान्तरित भएको कवि तिमल्सिनाले जानकारी दिनुभयो । प्रेम, वियोग, सामाजिक अन्याय, प्रवास, पहिचान, प्रकृतिको प्रकोप, मृत्युचिन्तन र आत्मबोध यस कृतिका प्रमुख विषय रहेका छन् । कति महेशबाबु समकालीन नेपाली कवितामा संवेदनशील अभिव्यक्ति, सामाजिक मनोविज्ञान र अस्तित्ववादी दृष्टिकोणका लागि परिचित कवि हुन् ।