गोकर्ण पौडेल
तुलसीपुर, मङ्सिर २५ गते । नेपाल संस्कृत विश्वविद्यालय स्थापना दिवसका अवसरमा प्राध्यापक एवम कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरी विश्वविद्यालयमा २५ वर्ष सेवा गरेका ५१ जना प्राध्यापक एवम् कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेका हो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल विश्वविद्यालयको सर्वाङ्गीण विकासका लागि प्राध्यापक, कर्मचारी र विद्यार्थीबिच पारस्परिक सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो । उहाँले संस्कृत शिक्षाको प्रवर्धनका लागि सबै एकजुट भए मात्रै सम्भव हुने बताउनुभयो ।
विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीले विश्वविद्यालय स्थापनाका लागि अतुलनीय योगदान गर्नुहुने योगी नरहरिनाथको सम्झनामा विश्वविद्यालयले उहाँको कुटी संरक्षण गर्ने बताउनुभयो । उहाँले नेपाल संस्कृत विश्वविद्यालयलाई विश्वभर रहेका संस्कृत विश्वविद्यालयसँग सम्बन्ध स्थापित गर्ने प्रयास भइरहेको बताउनुभयो ।
तत्कालीन राजा वीरेन्द्रविक्रम शाहले २०४३ साल मङ्सिर २५ गते महेन्द्र संस्कृत विश्वविद्यालय ऐन जारी गरेको दिनलाई आधार मानी स्थापना दिवस मनाउँदै आइएको कुलसचिव प्राध्यापक माधव अधिकारीले जानकारी दिनुभयो ।