नवराज नेपाली
बागलुङ (गलकोट), मंसिर २५ गते । बागलुङको दक्षिण क्षेत्रमा पर्ने बरेङ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ। भवनको शिलान्यास गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गर्दै २ तले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य थालिएको हो ।
सो भवनको शिलान्यास गर्दै प्रदेश सरकारबाट दिने बजेट निर्माण कम्पनी जति छिटो काम गर्न सक्यो त्यतिनै छिटो बजेटको कुनै अभाव हुन नदिने मन्त्री गुरुङले प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिकाले कुल ४ करोड ३४ लाख ३८ हजार ४ सय ८ रुपियाँ १४ पैसा लागतमा निर्माण हुने प्रशासकीय भवन प्रतिक्षा केएनएस जेवीसँग सम्झौता गरेको हो । दुई रोपनी जग्गाभित्र निर्माण हुने दुई तले भवनको भुइतलामा १२ कोठा र दोस्रो तलामा हलसहित १० वटा कोठा गरी जम्मा २२ वटा कोठासहितको भवन निर्माण हुने गाउँपालिका इन्जिनियर रामकृष्ण पौडेलले जानकारी गराउनुभयो ।
सानो भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या भइरहेकाले अब छिट्टै नै भवन निर्माणको काम सकेर नयाँ भवनबाट सेवा प्रवाह गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । अध्यक्ष शर्माले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई समयमा काम गर्न आग्रह गर्दै बजेट अभाव हुन नदिने प्रतिवद्धता गर्नुभयो ।
गाउँपालिका र निर्माण कम्पनीबिच भएको सम्झौताअनुसार निर्माण व्यवसायीले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोखरेलले बताउनुभयो । प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत बजेटमा भवन निर्माण गरिने भएको छ। पालिकाको भवन निर्माणका लागि जग्गा विवादित हुँदा भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।