• २५ मङ्सिर २०८२, बिहिबार

फेरीले फेरिएको जीवनशैली

blog

कर्णाली नदीमा राखेको फेरीले स्थानीय तथा सावारी साधानलाई वारपार गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २५ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाको बीचमा कर्णाली नदी रहेको छ । यसै कर्णाली नदीमा रहेको पुरानो झोलुङ्गे पुलको साहाराले स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय जगनाथ हुँदै कोल्टीमा आउजाउ गर्ने गर्थे । 

पहिला गाउँमा सडक नहुँदा यहाँका स्थानीय भेडाबाख्रा र खच्चरको भरमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे ।अहिले यहाँको स्थानीय सरकारले यहाँका अधिकांश गाउँ बस्तीमा सडक पुगाएको छ । 

कर्णाली नदीमा राखेको फेरीले पछिल्लो समय सवारी साधानलाई वारपार गर्दै आएपछि अहिले ती सडकमा हिउँदको महिना गाडी गुडने गरेका छन् । भेडा घोडा र खच्चर चल्ने गाउँ बस्तीमा अहिले गाडी गुड्न थालेका छन् ।

पछिल्लो समय कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन ल्याइदिएको छ । यहाँका स्थानीय सरकारले यहाँका अधिकांश वडालाई सडक सञ्जालको पहुँचमा राखेसँगै कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयको जीवनशैलीमा परिवर्तन आएको हो । 

यो भन्दा पहिला यहाँको स्वामिकार्तिक खापर गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए । अहिले कर्णाली नदीमा राखिएको फेरीले मान्छे मात्र नभई सवारीसाधान समेत वारपार गर्न थालेपछि यहाँका स्थानीयलाई आवतजावतमा गर्न सहज भएको छ । 

अब प्रत्येक गाउँबस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । गाउँ गाउँमा मोटरसाइकल, ट्याक्टर र जिपलगायतका सवारीसाधन गुड्न थालेपछि अहिले यहाँका स्थानीयको जिवनशैलीमा परिवर्तन आएको स्वामिकार्तिका खापर गाउँपालिकाका बाहुनीका स्थानीय विरभान बिकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बावु बाजेले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोक्ने गर्थे । अहिले कर्णाली नदीमा राखेको फेरीको साहाराले गाडी वारपार हुन थालेपछि हामी ती सामग्री गाडीमै घरमा ल्याउने गरेका छौ ।”

फेरीले पछिल्लो समय यहाँका स्थानीयको जीवन शैली फेरिएको छ । वर्खाको समय कर्णाली नदीमा पानी धेरै भएकोले त्यति बेला फेरी बन्द हुन्छ । त्यति बेला कर्णाली नदीमा राखेको झोलुङ््गे पुलको साहाराले सामान भरीया मार्फत ल्याउनु पर्ने हुन्छ । 

यस कर्णाली नदिमा पक्की पुल निर्माण हुन पाए यहाँका स्थानीयलाई वर्खाको समय पनि त्यसै पुलमा सामान ढुवानी गर्न निकै सहज हुने थियो । अहिले सम्म यस कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्दै आउनु परेको विकले बताउनुभयो ।

स्वामिकार्तिक खापर गाउँपालिका अधिकांश वडा अहिले हामीले सडक पुगाएका छौं । ती सडकमा हिउँदको समय गाडी गुड्ने गर्छन् । कर्णाली नदीमा राखेको फेरीले वडामा गाडी गुड्ने गरेका हुन् । फेरीका कारण अहिले यहाँका स्थानीयको जिवन शैलीमासमेत निकै परिवर्तन आएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “केही समय पहिला सङ्घीय सरकारको १९ करोड लगानीमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका–४ को वाईस्थित चुल्लीगाडमा पुल निर्माणको तयारी भइरहेको थियो ।” अहिले फेरि त्यो ठाउँमा पुल क्यान्सिल भएपछि फेरि कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको तल देखि पक्की पुल निर्माणका लागि पहल भइरहेको छ । त्यो ठाउँमा पुल बनेपछि त्यसपछि मात्र यहाँका स्थानीयलाई हिउँद वर्खामै गाडीको सुविधा हुन सक्ने अध्यक्ष रोकायाले बताउनुभयो ।