• २५ मङ्सिर २०८२, बिहिबार

विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

भगवती माविका विद्यार्थीलाई न्यानो कपडा वितरण । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), मङ्सिर २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरस्थित भगवती माध्यमिक विद्यालयका १८२ विद्यार्थीलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको छ ।

आफूलाई नेपालकै कान्छो ज्योतिष दाबी गर्ने भगवती माविका पूर्व विद्यार्थी चुरामणि पाण्डेले व्यक्तिगत रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो । सानैदेखि सामाजिक काममा आफ्नो इच्छा भएकाले आफू जन्मिए अध्ययन गरेको विद्यालयबाट अभियानको सुरुवात गरेको पाण्डेले बताउनुभयो ।

कुनै पनि विद्यार्थीलाई नछुटाउने उद्देश्यले एकमुष्ट एक लाख रुपियाँ बराबरको न्यानो कपडा वितरण गरेको पाण्डेले बताउनुभयो । उहाँले आफ्नो जन्मदिने बुबा रेणुराज पाण्डेको उपस्थितिमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न पाएकाले खुशी व्यक्त गर्दै आगामी दिनमा समेत थप काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले आफ्नो विद्यालयमा पढेको विद्यार्थीले प्रगति र  सहयोगले गौरव लागेको बताउनुभयो । विद्यालयमा सबै समुदायका विद्यार्थीले अध्ययन गरेपनी विपन्न केही बालबालिका स्विटर र टोपीले जाडोमा ठुलो राहत दिएको पाण्डेले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका-१० का वडाध्यक्ष रामबहादुर बस्नेतले सहयोग सानोठुलो भन्दा पनि सामाजिक भावना ज्यादै महत्त्वपूर्ण हुने बताउँदै वडा कार्यालयको तर्फबाट सहयोगी पाण्डेप्रति धन्यवाद व्यक्त गर्नुभयो । जाडो मौसममा विद्यार्थीलाई न्यानो कपडा आवश्यकता अनुसारको सहयोग भएको बस्नेतले बताउनुभयो ।

ज्योतिष पाण्डेले यसअघि धुर्कोट गाउँपालिका(४ जैसीथोकका रामु विश्वकर्माको परिवारलाई खाद्यान्न र नगद गरेर ४५ हजार रुपियाँ बराबरको सहयोग घरमै पुगेर सहयोग प्रदान गर्नुभएको हो । विश्वकर्माका कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय अनमोल विक गोठमा मृत भेटिएका थिए ।  सोही परिवारको माइलो छोरा दुर्घटनामा परेर भारतमा ज्यान गुमाएका थिए ।

रामुका जेठो छोराको खोलामा डुबेर मृत्यु भएको थियो । छोरा बितेको १३ दिनमै आमाको पनि मृत्यु भएको थियो । रामु र ७९ वर्षीय हरिकला विकको अवस्थाका आधारमा पाण्डेले खाद्यान्न र नगद सहयोग गर्नुभएको हो । त्यस्तै इस्मा गाउँपालिका–१, हर्पुकोटका क्यान्सर पीडित दीपक खत्रीको उपचारका लागि २० हजार रुपियाँ नगद घरमै पुगेर आमालाई हस्तान्तरण गर्नुभयो। पाण्डेले समाजमा विपन्न र पीडित परिवारको सहयोग गर्नु मात्र दान नभई मानवीय दायित्व पनि भएको बताउँदै आउनुभएको छ ।