तिलाचन पाण्डे
तम्घास(गुल्मी),मङ्सिर २५ गते । गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ सिरकोटमा वर्षौदेखि बाँझिएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर छ सय रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा किवी खेती गरेका हुन् । अहिले करिब चार सय बिरुवाले उत्पादन दिएकाले ६० क्विन्टल किवी बिक्री गरेको युवा व्यवसायी लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो ।
औसतमा प्रति किलो दुई सय पचास रुपियाँका दरले किवी बिक्री गरेको उहाँको भनाइ छ । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उहाँले बताउनुभयो । यस वर्ष किवी बिक्रीबाट १५ लाख आम्दानी गरेको न्यौपानेले बताउनुभयो ।
वर्षौदेखि बाँझिएर खेर गइरहेको सिरकोट, तोलादी, देउराली र अर्वेनी कोटको जग्गालाई सदुपयोग गरिएको र गाउँलाई नै किवीमय बनाउने योजना रहेको अर्का कृषक गगन तरामुले बताउनुभयो । उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले छ सय रोपनी क्षेत्रफलमा करिब आठ हजार बिरुवा रोपण गरी व्यावसायिक रुपमा किवी खेती गरिएको बताउनुभयो ।
पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाइ छ ।
आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट लिएको न्यौपानेको भनाइ छ । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदानप्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।
२०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरूवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटरभन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् ।