जीवछ यादव
लहान, मङ्सिर २५ गते । जिल्ला उद्योग वाणिज्य संघ लहानको ३५ औं अधिवेशनबाट नेतृत्व चयनको लागि सुरु भएको उम्मेदवारी घोषणा कार्यक्रममा व्यापारी तथा उपभोक्ताहरुले व्यापार पलायन रोक्न माग गरेका छन् । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका सचिव प्रदिप गुप्ता र वर्तमान महासचिव श्याम गुप्ताले उम्मेदवार घोषणा गर्नुभएको छ ।
अध्यक्ष पदमा उम्मेदवारद्वय प्रदिप र श्यामसँग मतदाता व्यापारी र आम उपभोक्ताले लहानको व्यापार पलायन भएर उजाडको अवस्थामा आएपनि किन नरोक्न सकेको प्रश्न गरिरहेका छन् । लहानमा रहेका चारवटा राइस मिल समेत विस्थापित भएकाले पुनः सञ्चालन हुनुपर्ने माग समेत व्यापारी र उपभोक्ताहरुले गरेका छन् । मुरारका र शारडा परिवारले व्यापारबाट हात झिकेपछि लहान सुनसान भएको ध्यान समेत उपभोक्ताहरुले गुनासो पोखेका छन् ।
लहान–५ का इसराइल सिद्धिकीले कुखुरा व्यापार होस् चाहे किराना लुगाकपडा र रड सिमेन्टको समानहरु होस् लहानको विकल्पमा अन्य बजारहरु रोज्न उपभोक्ताहरु बाध्य भएपछि लहानको व्यापारी र उपभोक्ताहरु समेत पलायनको क्रम जारी रहेका छ । व्यापारी पलायनलाई कसरी रोक्ने, बैंक र व्यापारीको बिचमा सम्बन्ध कसरी सन्तुलन हुने लगायतका समस्याहरु समाधान गर्ने ठोस आधार दिइने समूहलाई मात्रै मतदान गरिने जिज्ञासा राख्नुभयो ।
दुई दशक अगाडि लहानमा हेटौँडापछिको दोस्रो खाना खाने बजार लहानमा अहिले रात्री बस खानाको लागि नरोकिँदा होटेल व्यवसाय धारासायी भएको छ । किराना समानका लागि पारी भारतीय बजार लौकहा, लुगाकपडाका लागि गोलबजार र रड सिमेन्टका लागि छपरारी बजार जान थालेपछि लहानको व्यापार सुकेको लहान २ का व्यापारी राम औतार महतोले उम्मेदबार घोषणा कार्यक्रममा गुनासो पोख्नुभयो ।
विगतका जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले प्रहरी प्रशासनको स्वागत बिदाइमा बढी केन्द्रित भएर तस्करी व्यापारमा अपराध लगायतका कार्यहरु भइरहँदा मारमा परेका साना व्यापारीहरुले गरेका गुनासोको कुनै सुनुवाइ नभएको नेपाल वितरक संघका उपाध्यक्ष पशुपति साहले वर्तमान र विगतका कार्यसमितिहरुमाथि आरोप लगाउनुभयो ।
पूर्व अध्यक्षहरु पवन मुन्धडा, अशोक अग्रवाल, अशोकलाल आमात्य सुनिल महतो र वर्तमान अध्यक्ष विकास शारडाको साथ पाएर व्यापारलाई आत्मनिर्भर बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा आफू होमिएको प्रदिप कुमार गुप्ताले बताउनुभयो ।
बुधबार पूर्व अध्यक्ष निरस चौधरीको साथ पाएर श्याम गुप्ताले उद्योग वाणिज्य संघलाई व्यापारी र उपभोक्ताहरुको समस्या समाधान गर्न परिर्वतनको पक्षमा उम्मेदवार भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘महासचिव रहेर स्वस्थ्य भएर काम गर्न नदिएकोले यसपटक अध्यक्षमा उम्मेदवार दिएको छु ।’’ चार हजारको हाराहारमिा मतदाता रहेको जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानअन्तर्गत भगवानपुर, लक्ष्मीपुर पतारी, सखुवानन्कारकटि र नवराजपुर गाउँ पालिका पर्दछ ।