• २५ मङ्सिर २०८२, बिहिबार

भेरीबाट निःशुल्क स्वास्थ्य सेवा लिने हिंसापीडितको सङ्ख्या बढ्दै

blog

हिंसा पीडितहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पताल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर २५ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट निःशुल्क स्वास्थ्य सेवा लिने हिंसापीडितको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

पछिल्ला तीन वर्षमा सेवा लिनेहरुको सङ्ख्या बढ्दो क्रममा छ । अस्पतालको तथ्याङ्कअनुसार विगत तीन वर्षमा एक हजार ११३ जना पीडितले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । आर्थिक वर्ष २०७९–८० मा ३५२, २०८०–०८१ मा ३६२ जना र गत आव २०८१–८२ मा ३९९ विभिन्न हिंसापीडितले सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा सेवा लिएका ३९९ मध्ये १२ जना पुरुष र ३८७ जना महिला रहेका केन्द्रका इन्चार्ज फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले जानकारी दिनुभयो । सबैभन्दा बढी १९ देखि ४९ वर्ष उमेरका २३६ जना, १५ देखि १८ वर्ष उमेरका ६३, ११ देखि १४ वर्ष उमेरका ३४, ५० देखि ५९ उमेर समूहका ३२, १० वर्षमुनिका १२ र ६० वर्षमाथिका ११ जना रहेका उहाँले जानकारी दिनुभयो ।

गत वर्ष केन्द्रमा आएका पीडितहरुमध्ये सबैभन्दा बढी २३३ जना शारीरिक हिंसामा परेका, ९२ जना मानसिक हिंसामा परेका, ९० जना बलात्कामा परेका, ९० जना बहुविवाहका, ४२ जना बालविवाहका र २५ लैङ्गिक हिंसाका पीडित रहेका डा. शाक्यले बताउनुभयो ।

चालु आर्थिक वर्षको कात्तिकसम्म चार महिनाको अवधिमा ८४ वटा नयाँसहित ९० जना पीडितहरु केन्द्रमा आएका तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी शारीरिक हिंसाका ४८ जना, करणीका ३१ जना, मानसिकका २० जना, लैङ्गिकका २ र जबरजस्ती बालविवाहका १ जना पीडित छन् ।

भेरी अस्पतालमा उपचार सेवा लिन आउनेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका छन् । त्यसपछि क्रमशः कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ, राप्तीसोनारी, डुडुवा, नरैनापुर र सबैभन्दा कम जानकी गाउँपालिकाका छन् । बाँकेबाहेक बर्दिया, जुम्ला, दाङ र अछामका करिब १३ प्रतिशत पीडितले निःशुल्क स्वास्थ्य सेवा लिएकाे शाक्यले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार उपचार सेवा लिन आउने पीडितहरुमा सबैभन्दा बढी मधेसी त्यसपछि क्रमशः जनजाति, दलित, मुस्लिम र ब्राह्मण÷क्षेत्री समुदायका छन् । २०७४ सालमा स्थापना भएको केन्द्रमा हाल चारवटा कक्ष रहेको र सेवालाई थप प्रभावकारी बनाउँदै लगिएको डा. शाक्यको भनाइ छ ।

केन्द्रबाट स्वास्थ्य उपचार सेवा, चिकित्सजन्य प्रमाण सङ्कलन, परीक्षण रिपोर्टिङ एवम् संरक्षण, मानसिक एवम् मनोसामाजिक परामर्श सेवा प्रदान गरिँदै आइएको डा. शाक्यले बताउनुभयो । उहाँले सुरक्षा, आश्रय, कानुनी उपचार, जीविकोपार्जन तथा पुनःस्थापनासम्बन्धी विषयमा सम्बन्धित सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गरी व्यवस्थानपनमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

डा. शाक्यले पीडितको पहिचानमै सबैभन्दा ठुलो चुनौती रहेको बताउँदै पहिचान भइसकेपछि पनि कानुनी जटिलता, प्रहरीमा उजुरी गर्न नचाहने, सीमित जनशक्ति र बजेटको चुनौती रहेको बताउनुभयो ।

केन्द्रबाट लैङ्गिक हिंसापीडित प्रमाणितहरुलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवा एकै स्थानबाट पूर्णरुपमा निःशुल्क सहज र सरल तरिकाले २४सै घण्टा उपलब्ध गराई लैङ्गिक हिंसा न्यूनीकरणमा योगदान पुर्‍याइरहेको डा. शाक्यको भनाइ छ ।