• २५ मङ्सिर २०८२, बिहिबार

विकट गाउँ गुर्जा पुगेर राष्ट्रिय परिचयपत्र वितरण

blog

टोलीसँग सेवा लिँदै गुर्जालीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
बेनी, मङ्सिर २५ गते ।
भौगोलिक रुपमा विकट रहेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको नेतृत्वमा बुधबार गुर्जा पुगेको कर्मचारीहरुको टोलीले स्थानीयरुलाई घरआँगनमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । टोलीले १४ वटा राष्ट्रिय परिचयपत्रको कार्ड वितरण र १५ वटा नयाँ दर्ता गरेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । 

उहाँका अनुसार भौगोलिक रुपमा विकट भएकाले जिल्ला प्रशासन कार्यालयमा पुगेर परिचयपत्र लिन नपाएका र नयाँ दर्ता गर्न छुटेकाहरु लाभान्वित भएका छन् । साथै टोलीमा सहभागी जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाट मतदाता परिचयपत्र वितरण गरिएको छ ।  

भौगोलिक रुपमा विकट भएकाले राष्ट्रिय परिचयपत्र लिन नपाएका गुर्जालीहरुलाई घरदैलोमा पुगेर सेवा प्रदान गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जिल्ला प्रशासन कार्यालयले गरेको सार्वजनिक सुनुवाइमार्फत सरकारी सेवा प्रवाहका बारेमा समस्या, सुझाव र गुनासोहरु समेत सङ्कलन भएका छन् । घरदैलोमा पुगेर समस्याहरु सङ्कलन गर्दा गुर्जालीहरु खुसी भए ।’’ घरआँगनमा राष्ट्रिय परिचयपत्र पाउँदा गुर्जालीहरु खुसी भएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जामा अहिलेसम्म सडक पुगेको छैन ।

लुलाङ–गुर्जा सडक अहिले निर्माणधिन छ । एक वर्षभित्रमा सडक पुर्‍याउने गरी सङ्घ, प्रदेश र स्थानीय तहले संयुक्त रुपमा बजेट विनियोजन गरी सडक निर्माणको काम भइरहेको छ ।