काठमाडौँ, मङ्सिर १९ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले भेटवार्ता गर्नुभएको छ। शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको उपराष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको हो।
भेटमा शुभकामना आदानप्रदान पश्चात सार्क मुलुकमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोग लगायत बहुआयामिक विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।
उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताउनुभयो। उहाँले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाइ दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौती पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एशियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गर्नुभयो।
पछिल्लो राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेन–जी’ आन्दोलनपश्चात देश आम निर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताउनुभयो।
उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबिच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सार्कका उच्च बैठकहरू नभए पनि सार्कका क्रियाशील संयन्त्र तथा विभिन्न केन्द्रहरूलाई सार्कको मर्मअनुरूप क्षेत्रीय सहयोग अभिवृद्धिमा उपयोग गर्न महासचिवको विशेष ध्यान जाने अपेक्षा व्यक्त गर्नुभयो।
उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा आफ्ना विचार र योजनाहरू व्यक्त गर्नुभएकोमा महासचिवलाई धन्यवाद दिँदै उहाँको सक्षम नेतृत्वले सार्कलाई थप सक्रिय बनाउन र क्षेत्रीय चुनौतीहरूको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो।