साहारा लिम्बू
फुङलिङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो ।
लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद –६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका –१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो ।
जित सँगै हाङपाङले नगद एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै खाम्लुङले भने नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले बताउनुभयो । मंसिर १३ गतेदेखि सुरु भएको खेल विहीबार सम्पन्न भएको छ ।