• १९ मङ्सिर २०८२, शुक्रबार

‘सामुदायिक स्वास्थ्य स्वयमसेवकको योगदान महत्वपूर्ण’

blog

कार्यक्रममा स्वास्थ्य स्वयम्सेवीलाई सम्मान गरिदै । तस्बिरः कविता थापा

गोरखापत्र समाचारदाता

ललितपुर, मङ्सिर १९ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरबासीको स्वास्थ्य स्थिति राम्रो बनाउन दिनरात खटिने सामुदायिक स्वास्थ्य स्वयसेवकहरु, महिला स्वास्थ्य स्वयमसेवकको अतुलनीय योगदान रहेको बताउनुभएको छ । 

उहाँले २२ औं राष्ट्रिय स्वास्थ्य स्वयसेवक दिवसमा महानगरभित्र सेवा गर्नुभएका महिला स्वास्थ्य स्वयमसेवक, टिवी ट्रेसर, टोल स्वास्थ्य उत्प्रेरक र सामुदायिक स्वास्थ्यसेवकलाई नगदसहित सम्मान गर्दै सो कुरा बताउनुभएको हो । 

नगर प्रमुख महर्जनले ललितपुर महानगरले हरेक वर्ष स्वास्थ्य, सम्पदालगायत विविध विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्न सफल हुुनुमा यस महागरमा कार्यरत सबै कर्मचारी, स्वास्थ्य स्वयमसेवक, नागरिक समाज र अभियन्ताहरु समेतले राम्रो काम गरेको भएरै देशभरका स्थानीय तह मध्येमा ललितपुर महानगरको काम उत्कृष्ट देखिन गएको बताउनुभयो । 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महानगरबासीको स्वस्थ जीवनका लागि खटिने स्वास्थ्य सेवक जनशक्तिकै मेहनतले नागरिकले स्वस्थ्यसेवामा सहज पहुँच पुगेको र आगामी दिनमा पनि यस्तो जागरणमुलक काम भइरहने आशा व्यक्त गर्नुभयो । 

ललितपुर महानगरसँग भगिनी सम्वन्ध रहेको सल्यानको शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको कार्यशैलीबाट सधैं सकारात्मक काम गरी स्थानीय बासिन्दाको जीवन सहज बनाउने प्रेरणा मिलेको बताउनुभयो । 

सो अवसरमा स्वास्थ्य स्वयमसेवक, टि.वि ट्रेसर, टोल स्वास्थ्य उत्पे्ररकको भूमिकामा ६० वर्ष उमेर पुग्दा १० देखि १४ वर्षसम्म सेवा गर्नुभएका दुई जनालाई ५० हजार रुपियाँ, १६ वर्ष काम गरेका ४ जनालाई ७५ हजार र २५ वर्षदेखि २८ वर्षसम्म काम गरी ६० वर्ष उमेर पुगेका १० जना स्वास्थ्य स्वयमसेवकलाई जनही एक लाख रुपियाँसहित अनिवार्य अवकाश दिइएको छ । 

त्यसैगरी ललितपुर महानगरका २९ वडाकै स्वास्थ्य स्वयमसेवक, महिला स्वास्थ्य सेवक, टोल स्वास्थ्य उत्प्रेरक र टि.वि ट्रेसरहरुलाई नगदसहित सम्मान गरिएको छ । 

महानगरको प्रवक्ता राजु महर्जनले स्वास्थ्य स्वयमसेवकलाई भिटामिन ए र अन्य खोप खुवाउँदा सहज होस् भन्ने उद्देश्यले टेवल, मेच र छाता प्रदान गर्दै यसबाट स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  । 

स्वास्थ्य सेवाको दृष्टिले महानगरको २९ वडामध्ये प्रथम वडा –२, द्वितीय वडा १३ र तेस्रो स्थानमा वडा २० लाई समेत सम्मानपत्रसहित सम्मान गरिएको छ ।