अविनाश चौधरी
धनगढी, मङ्सिर १९ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट जोगाउन हातेमालो गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
आज धनगढीमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले आयोजना गरेको मनसुन समीक्षा तथा हिउँदे प्रकोपको पूर्व तयारी कार्यक्रममा उहाँले हिउँदे प्रकोपबाट हुने विपत न्यूनीकरणका लागि हातेमाले गर्न आग्रह गर्नुभएको हो ।
“यो वर्ष पनि चिसोले व्यापक प्रभाव पार्ने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “विपन्न, ज्येष्ठ नागरिक, बालबालिकालाई चिसो लाग्नबाट बचाउन आफ्ना ठाउँबाट लाग्नमा सम्पूर्ण सहयोगी संघ, संस्थालाई आग्रह गर्दछु ।”
आर्थिक रुपमा विपन्न, नदी किनारमा बस्नेहरुलाई मौसमजन्य विपत्ले बढी असर गर्नेगरेको मन्त्री सार्कीको भनाइ छ । उहाँले त्यस्ता वर्ग, व्यक्तिलाई विपत्बाट जोगाउने कार्य प्रदेश र स्थानीय सरकारले पनि गर्दैआएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा शीतलहर, हिमपातजस्ता हिउँदे प्रकोपबाट जोगिन सरोकारवाला सबै पूर्व तयारीमा जुट्नु पर्ने जोड दिइएको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार नेपालमा हिउँदको अवधि मङ्सिर १५ देखि फागुन १६ गतेसम्म रहने गरेको छ । यो अवधिको पुस, माघ महिनामा शीतलहर चल्ने गरेको जनाइएको छ ।
लगातार तीन दिनसम्म १० डिग्रीभन्दा कम तापक्रम भएमा शीतलहर चल्ने गरेको मौसमविद अखिलेस चौरसियाले बताउनुभयो । उहाँले तापक्रमको गिरावट र प्रदूषणको कारणले शीतलहर हुनेगरेको उल्लेख गर्नुभयो । “जति नै बढी प्रदूषण त्यति नै बढी शीतलहर हुन्छ” मौसमविद् चौरसियाले भन्नुभयो ।
मौसमविदका अनुसार इन्डो (सिन्धु–गङ्गाको समतल मैदान) कुहिरो लाग्ने सबभन्दा कमजोर इलाका हो । सात लाख वर्ग किलोमिटरमा फैलिएको यो मैदानमा कृषि उत्पादन, उद्योग, निर्माण कार्य बढी हुने कारणले कुहिरो लाग्नेगरेको छ । यो क्षेत्रलाई प्रदूषणको हिसाबले अति संवेदनशील मान्ने गरिएको छ ।
यस वर्षको हिउँदमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा कम रहने मौसमविदको भनाइ छ । मौसमजन्य विपत्बाट जोगिनका लागि पूर्व अनुमान र पूर्व तयारीबिच रहेको खाडलको अन्त्य गर्न आवश्यक रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले बताउनुभयो ।
उहाँले विपत्लाई पहिलो प्राथमिकतामा राख्न नसकिए भोलिका दिन हुने दुर्घटनाको सामना गर्न नसकिने उल्लेख गर्नुभयो । यसैगरी, पूर्व अनुमानअनुसार नै तयारी गरिएका कारण मनसुनजन्य प्रकोपबाट यस प्रदेशमा कम क्षति भएको साहको भनाइ छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशभरी ५०६ वटा विपत्को घटनामा ४६ जनाको ज्यान गएको थियो । यसैगरी, २६० जना घाइते भएका छन् ।