• १९ मङ्सिर २०८२, शुक्रबार

जनताको स्वास्थ्य—गाउँपालिकाको प्राथमिकता : निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन

blog

सरावल गाउँपालिका र विनोद–निता कण्डेल आँखा अस्पतालबिच सम्झौता ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर १९ गते । 
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो सेवा विशेष गरी गाउँपालिकाका गरिब तथा विपन्न घरपरिवारका बिरामीहरूलाई लक्षित गरिएको हो ।

“जनताको स्वास्थ्य हाम्रो गाउँपालिकाको सर्वोच्च प्राथमिकता हो । हामीले विपन्न वर्गका नागरिकलाई आँखाको उपचार र मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क उपलब्ध गराउन यो महत्त्वपूर्ण कदम चालेका छौं । गाउँपालिकाका अध्यक्ष शुखाडीप्रसाद चौधरीले भन्नुभयो, ‘‘विनोद–निता कण्डेल आँखा अस्पतालसँगको यो सहकार्यले हाम्रो गाउँपालिकावासीको जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौं । अब कुनै पनि गरीब बिरामीले पैसाको अभावमा दृष्टि गुमाउनुपर्ने छैन ।’’

“वार्षिक बजेटअनुसार स्वीकृत कार्यक्रमलाई कार्यान्वयन गर्न हामीले विनोद–निता कण्डेल आँखा अस्पतालसँग सम्झौता सम्पन्न गरिसकेका छौं ।,’’ प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौत्तमले भन्नुभयो, ‘‘यो सम्झौताले गाउँपालिकाका जनताहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरेको छ । यसबाट लक्षित समुदायले भरपुर लाभ लिनेछन् ।’’

अब गाउँपालिकावासीलाई गुणस्तरीय आँखा उपचार र मोतियाबिन्दुको निःशुल्क शयक्रिया सहज रूपमा उपलब्ध हुने भएको छ । यस कार्यक्रमका लागि सरावल गाउँपालिका र पश्चिम नवलपरासीको विनोद–निता कण्डेल आँखा अस्पतालबिच सम्झौता भइसकेको छ ।