• १८ मङ्सिर २०८२, बिहिबार

तयार हुँदै केरौन सबस्टेसन

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १८ गते । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ ।

सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उहाँले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ ।

२०७८ साउन २७ गते उक्त सबस्टेसन निर्माण गर्न  एनर्जिपिक इन्जिनियरिङ–एस आर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का प्रदान गरिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप गरी आयोजना अन्तिम चरणमा पु¥याइएको हो । “अन्तिम म्याद २०८२ पुस १७ गतेसम्म पूर्ण रूपमा काम सम्पन्न हुने अवस्था छैन तर प्राविधिक रूपमा ९५ प्रतिशत काम सकिने छ,” आयोजना प्रमुख यादवले भन्नुभयो, “बाँकी काम सम्पन्न गर्न थप एक महिना लाग्ने छ ।” 

पर्याप्त क्षमताको सबस्टेसन नहुँदा दक्षिण मोरङका जनताले १७० केभी क्षमतामा मात्र विद्युत् उपभोग गर्न पाएका थिए । यो स्टेसन तयार भएपछि रङ्गेली वितरण केन्द्रबाट बिजुली बालिरहेका सबै खाले ग्राहकले ३० वर्ष पुरानो समस्याबाट मुक्ति पाउने छन् । रङ्गेली वितरण केन्द्रले हाल रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिकाका ५१ हजार १७९ घरधुरीमा विद्युत् सेवा दिएको छ । 

यस्तै ६७१ औद्योगिक उपभोक्ता छन् भने ८६७ विभिन्न सङ्घ संस्थाले विद्युत् सेवा लिएका छन् । सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ६१ हजार ८५५ ग्राहकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरेका छन् ।